योगेशलाई चिढ्याउन फेरियो ताप्लेजुङ विमानस्थलको नाम

काठमाडौं । शनिबार सार्वजनिक आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने निर्णय गरेको छ ।

ताप्लेजुङ एमालेका युवा नेता योगेश भट्टराईको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरेपछि उक्त कदमको विरोध गर्दै मन्त्री पद त्यागेका भट्टराई अहिले पनि प्रधानमन्त्रीको सो कदमको विरोधमा छन् । ओलीको कदममा साथ नदिई माधव नेपाल पक्षमा उभिएका भट्टराईको निर्वाचन क्षेत्रमा रहेको विमानस्थल कास्कीका स्व.रवीन्द्र अधिकारीको नाममा परिवर्तन गरेर ओलीले योगेशलाई चिढ्याउन चाहेको देखिन्छ ।

किनकि स्व.अधिकारीसँग सुकेटार विमानस्थलको कुनै साइनो जोडिंदैन । अधिकारीको मतदान क्षेत्र कास्कीको पोखरा हो । स्व. अधिकारीको प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन सकेर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न गएका बेला हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

छलफल पोखराको निर्णय सुकेटारको

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीका अनसार स्व.अधिकारीका नाममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम राख्नेबारे पटक–पटक छलफल भएको थियो । पोखराबाट समेत यस्तो प्रस्ताव धेरै पटक आएको थियो । तर, बजेटमा सुकेटारको नाम राखेर सार्वजनिक हुँदा अधिकारीहरू स्वयम् छक्क परेका छन् ।

पूर्व पर्यटन मन्त्रीको नाममा देशभर जहाँको नाम राखे पनि त भयो नि भन्ने होला’ उनले भने, ‘तर रवीन्द्रका नाममा पोखरा विमानस्थलको नाम परिवर्तन गर्नेबारे छलफल भएको थियो ।’

रवीन्द्रको योगदान पोखरामा, नाम किन जोडियो सुकेटारसँग ?

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको महत्वपूर्ण हात छ । उनी स्थानीय जनप्रतिनिधि भएका कारण हरेकजसो फोरममा यो आयोजनालाई अगाडि बढाउन सक्रिय हुन्थे । २०७४ सालमा मन्त्री बनेपछि उनकै सक्रियतामा यो आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

अहिले पोखरा विमानस्थलको भौतिक प्रगति ६० प्रतिशत भन्दा माथि पुगिसकेको छ । सोही कारण पोखरेलीहरू यो विमानस्थलको नाम नै स्व.अधिकारीको नाममा समर्पित गरी सम्मान दिन तयार समेत छन् । तर, पाथीभरामा हेलिकप्टर दुर्घटनामा निधन भएका स्व. अधिकारीको सुकेटार विमानस्थलसँग भने कुनै पनि साइनो छैन ।

योगेशको असन्तुष्टि

सुकेटारको नाम परिवर्तनबारे ताप्लेजुङका जनप्रतिनिधि समेत रहेका योगेश भट्टराईले सामाजिक संजालबाटै असन्तुष्टि जनाएका छन् । उनले ऐतिहासिक रूपमा कुनै नाम वा विशेषबाट चिनिएका स्थानको पहिचान सरोकारवालासँग छलफल र विचार–विमर्श नै नगरी बदलिएको प्रतिक्रिया दिएका छन् ।

उनले यसअघि त्यसको आवश्यकता, औचित्य, सन्दर्भ र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श नगरेको असन्तुष्टि व्यक्त गरेका छन् । असल नियत र सही प्रक्रियाबाट भएका निर्णय मात्र सही परिणाममा पुग्न सक्ने भन्दै उनले नभए विवाद, विभाजन र अनावश्यक तनाव झेल्नुपर्ने चेतावनी समेत दिएका छन् ।

चुहानडाँडा विमानस्थल यती समूहका संस्थापकको नाममा

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मभूमि तेह्रथुममा बन्ने विमानस्थलको नाम भने सरकारले यती समूहका संस्थापक स्व. आङछिरिङ शेर्पाको नाममा राख्ने निर्णय गरेको छ । शेर्पाको समेत स्व. अधिकारीसँगै एउटै हेलिकोप्टर दुर्घटनामा निधन भएको हो ।

चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनको कार्यक्रम पूरा गरी पाथीभरा माताको दर्शन गर्न पुगेको टोली त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकप्टर दुर्घटना हुँदा अधिकारी र शेर्पासहित सात जनाले ज्यान गुमाएका थिए ।