खोप खरिदमा सहजीकरण गरिदिन रुसी समकक्षी पुटिनलाई राष्ट्रपति भण्डारीको पत्राचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पत्र पठाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति पुटिनलाई पनि पत्राचार गर्नुभएको हो । राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पत्र गत शुक्रबार नै दूतावासलाई उपलब्ध गराइएको छ । राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि अनुरोध गर्नुभएको छ । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ ।

नेपालले रुससँग खोप खरिदको लागि पहल गरे पनि बीचमै पुगेर रोकिएको थियो । यसअघि राष्ट्रपति भण्डारीले सुरुमा जेठ १२ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई खोप सहयोग गर्न आग्रह गर्दै पत्राचार गर्नुभएको थियो ।

त्यसपछि उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग खोप खरिदमा सहजीकरण गरिदिनका लागि अनुरोध गर्दै टेलिफोन वार्ता गर्नुभयो । संवाद लगत्तै चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पनि पत्र पठाएर नेपाललाई खोप सहयोगको लागि अनुरोध गर्नुभएको छ ।