गढीमाई मेलाको शोभा यात्रामा राष्ट्रपति सहभागी

काठमाडौं। पञ्चवर्षीय गढीमाई मेलाको शोभा यात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन् । आइतबार निस्कने शोभा यात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने मेला व्यवस्थापन मुल समितिले जनाएको छ ।

मेलाको पूर्वसन्ध्या घटस्थापनाको अवसर पारेर शोभा यात्रा निकाल्ने चलन छ। मेला भने आउँदो मंसिरदेखि सुरु हुने छ। शोभा यात्रापछि मेला तयारीमा जुट्ने समितिले जनायो। ‘आइतबार महामहिम राष्ट्रपतिज्यू’ को प्रमुख आतिथ्यमा शोभा यात्राको उद्घाटन हुन्छ,’ महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले भने, ‘राष्ट्रपतिज्यूको आगमनले मेलाको लोकप्रियता र गढीमाई मन्दिर परिसरमा भौतिक पूर्वाधारसँगै पर्यटकीय विकास हुन सक्ने विश्वास छ। त्यसैले मेला मूल व्यवस्थापन समितिको तर्फबाट राष्ट्रपतिज्युलाई आउन आग्रह गरिएको छ।’

राष्ट्रपति भण्डारीको सुरक्षाको लागि यहाँ व्यापक सुरक्षाकर्मीहरु खटाइको छ। प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेलले भने, ‘राष्ट्रपतिज्यूको सुरक्षाको लागि केन्द्र र स्थानीय स्तरबाट व्यापक सुरक्षाको प्रबन्ध गरिएको छ।’

गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति ९गढीमाई ट्रष्ट० र स्थानीय तहको संयुक्त समन्वयमा शोभा यात्राको तयारी गरिएको छ। समितिकाअनुसार शोभा यात्रामा दर्जनौं, घोडा, हात्ती, स्थानीय चलन चल्तीका बाजा, झाँकी किर्तन हुनेछ। यात्रामा हजारौं स्थानीयहरुको सहभागिता हुने गरेको छ।

शोभायात्रा निकाल्नुभन्दा केही महिनाअघि नै गढीमाईको सीमाना बाँध्ने चलन छ। तान्त्रिक विधिबाट सीमा बाँधेपछि वरपरको दर्जनौ गाउँका चेलीहरु साउनदेखि मेला नसकुन्जेल माइती वा ससुराली जाँदैनन्। बिहेबारी हुँदैनन्। मन्दिरका मूल पुजारी ६५ वर्षीय मंगल चौधरीकाअनुसार धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको गढीमाई मेला लाग्ने वर्षको साउनदेखि नै गढीमाईको सीमाना बाँधिन्छ।

बाराको महागढीमाई नगरपालिकाको बरियारस्थित गढीमाई मन्दिर परिसरमा हरेक ५ वर्षमा मंसिरदेखि मेला लाग्दछ। मेलामा मनोकांक्षा पूरा हुने विश्वासमा लाखौं पशुपंक्षीको बलि दिइन्छ। मेलामा छिमेकी भारत र नेपालसँगै लाखौं विदेशी मेला भर्न आउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा लक्ष्मी साहले लेखेका छन् ।