माधव नेपालमाथि खनिए ओली- ‘हिस्ट्री’मै नभएको अनुशासनहीन काम गरे, देशका विरुद्ध अनिष्ट गरिरहेछन्’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई हिस्ट्रीमै नभएको अनुशासनहीन काम गरेको आरोप लगाएका छन्। महिला तथा बालबालिका मन्त्रालयद्वारा आइतबार आयोजित तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत नहालेको तर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकोमा आक्रोश व्यक्त गरे। यद्यपि, उनले नेता नेपालको नाम भने उच्चारण गरेनन्।

‘जब राजनीतिक दलहरु, राजनीतिक अनुशासनहिनता, अराजकता, फ्लोरक्रस, अनुशासन मान्न नपर्ने, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने। दुनियाँमा कहीँ हिस्ट्रीमा अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने। कहिले अर्को सरकार बनाउनका लागि समर्थन गर्न पुग्ने’, ओलीले नेपाल लक्षित आक्रोश व्यक्त गरे।

नेपालले दलीय अनुशासन, दलीय मर्यादा, दलीय प्रणाली, संसदीय प्रणाली या कुनै पनि एउटा अनुशासनको प्रणाली अनुसार काम नगरेको ओलीको आरोप थियो। ‘तिनले खाएको सपथ झुटो हो। तिनको सपथ बेइमानी हो। तिनका सपथभित्र स्वार्थ साधना गर्ने, स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ। अहिले तिनले खाएका सपथ सम्झिनुस् त। तिनले कहाँकहाँ सपथ खाए होलान्। तर देशका विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्’, उनले भने।

ओलीले नेतृत्व तहकै नेताहरु अनुशासनहीन, अराजकतामा उत्रिएपछि तलका कार्यकर्ताले पनि त्यस्तै नक्कल गर्ने बताए। ‘सम्माननीय राष्ट्रपतिकहाँ पुगेर एकजना नेताले ‘म यहाँ छु, म, म, म विरोधमा आएको छु’ भनेर गर्वसाथ, शरम छैन। जब नेतृत्व तह यस्तो हुन्छ। माथिबाटै धमिलो बगेपछि तल संग्लो कहाँबाट आउँछ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ। यो चिन्ताको विषय छ’, नेता नेपालको नाम नलिइ ओलीले भने।

गत जेठ ७ गते नेता नेपाल शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै शीलत निवास पुगेका थिए। नेपालले आफू नै शीलत निवास आइपुगेको भन्दै आफ्नो समर्थन छ भनेर ओलीले भन्न नसक्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई अवगत गराएका थिए। त्यसअघि, वैशाख २७ गते ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा नेपाल पक्षका २८ नेता मतदानमा सहभागी भएका थिएनन्।