सुदूरपश्चिममा चल्यो ओली–नेपाल स्पष्टीकरणको श्रृंखला

काठमाडौं । नेकपा एमालेभित्रको विवाद केन्द्र हुँदै प्रदेश तहसम्म उत्कर्षमा पुगेको छ । कर्णालीपछि अब विवादको श्रृंखला सुदूरपश्चिममा सुरु भएको छ ।

केन्द्रीय स्थायी कमिटीले सुदूरपश्चिममा माओवादीको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको निर्णय गरेसँगै एमालेभित्रको विवाद प्रदेश तहमा पनि उग्र रुपले देखिएको छ ।

प्रदेशसभामा एमालेका जम्मा २५ सांसद भएको सुदूरपश्चिममा माधव नेपाल समूहको बहुमत छ । स्थायी कमिटीको निर्णयलाई चुनौती दिँदै प्रदेश संसदीय दलले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

माओवादीको सरकारलाई समर्थन मात्रै गरेन, एमालेले आफ्ना सांसदलाई थप मन्त्रीमा पनि पठायो । त्यसपछि प्रदेश कमिटीले माधव नेपाल समूहबाट मन्त्री बनेका सांसदलाई स्पष्टीकरण सोध्नेमात्रै होइन, पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको थियो ।

त्यही प्रतिशोधमा अहिले माधव नेपाल समूहले ओली समूहका सांसद्लाई स्पष्टीकरण सोधेको छ । आफैं उपस्थित भएको बैठकमा भएको निर्णयलाई लिएर बाहिर गलत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण माग गरिएको हो ।

एमाले सुदूरपश्चिम कमिटीमा पनि एकअर्कामा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रतिस्पर्धा नै चलेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । ओली समूहका सांसद बोहरालाई एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण मागेका हुन् ।

बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।

औपचारिक रुपमा एमाले विभाजन नभए पनि केन्द्रदेखि तल्लो तहसम्म दुई खेमाका गतिविधि देख्दा नयाँ पार्टीको नाम मात्रै घोषणा हुनेजस्तो देखिन्छ ।