अध्यादेशबाट पूर्ण बजेट ल्याएर सरकारले संविधान उल्लंघन गर्‍यो : विपक्षी गठबन्धन (विज्ञप्ति)

काठमाडौँ। विपक्षी पाँच दलले संविधानको उल्लंघन गरेर प्रतिनिधि सभा विघटन गरेको सरकारले अध्यादेशबाट बजेट ल्याएर पुनः अल्लंघन गरेको बताएका छन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै संघीय संसद्मा पेस हुनु पर्ने बजेट अध्यादेशबाट ल्याएर संविधानको उल्लंघन गरेको बताएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको अवहेलना र उल्लंघन गर्ने कार्य एकपछि अर्को भइरहेका उल्लेख छ ।

सरकारको संरक्षणमा भ्रष्टाचार र कमिसनखोरी बढ्दो रहेको र राज्य सम्यन्त्रको स्वेच्छाचारी रूपमा दुरुपयोग भएको संयुक्त उल्लेख छ ।