वमकुमारसँगै न्यायाधीश केसी पनि इजलासमा बस्न नमिल्ने माग, प्रधानन्यायाधीशले दिए यस्तो जवाफ

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि गठित इजलासका विषयमा आइतवार पनि प्रश्न उठेको छ ।

नेकपा विघटन गरी एमाले र माओवादी ब्युँताउने फैसला गरेका न्यायाधीश वमकुमार श्रेष्ठ इजलासमा बस्न नमिल्ने जिकिर गर्दै अधिवक्ताहरूले उनको ठाउँमा अर्को न्यायाधीश राख्न माग गरेका हुन् ।

यस्तै न्यायाधीश तेजबहादुर केसीलाई पनि इजलासबाट हटाउनुपर्ने माग अधिवक्ताले गरेका छन् । उक्त मुद्दालाई पुनरवलोकनको निस्सा दिने कि नदिने भन्ने सुनुवाइका क्रममा केसी इजलासमा थिए ।

‘ऋषि कट्टेलको मुद्दामा नेकपा विघटन गरी एमाले र माओवादी बनाइयो, जुन निवेदकको माग नै थिएन,’ बहसका क्रममा अधिवक्ताले भने, ‘माग दाबीअनुसार निर्णय नभएको भए, बैठक बस्थ्यो र विभाजन हुन्थ्यो । तर यो फैसलाले आफैं पार्टी फुटाइदियो । आइवतारको सुनुवाइमा पहिलो बहस अधिवक्ता गोविन्द बन्दीले गरेका थिए ।

इजलासका २ न्यायाधीशको बारेमा प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशको विषयमा प्रश्न नउठाउन आग्रह गरे । के भएको भन्नेमा नजानुस्, यसरी बहस गर्न तपाईंलाई अधिकार छैन,’ प्रधानन्यायाधीश जबराले भने ।