सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको निर्णयमा योगेश भट्टराईको आपत्ति

काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थको नाम फेर्न खोजेको भन्दै योगेश भट्टराईले आपत्ति जनाउनु भएको छ ।

शनिबार आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नाम रवीन्द्र अधिकारीको नामबाट राख्ने बताउनुभएको थियो । उक्त निर्णयपछि पूर्वपर्यटन मन्त्री भट्टराईले विरोध जनाउनु हो । भट्टराईले ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नु भन्दा अघि त्यसको आवश्यकता, औचित्यका, सान्दर्भिकता र परिणामबारेछलफल गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ– ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ ।’

स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्शविना आफूखुसी गर्न नहुने भट्टराईको भनाइ छ । ‘असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ, अन्यथा बरबाद, विभाजन र अनावश्यक तनाब मात्र झेल्नु पर्दछ’ उहाँले उल्लेख गर्नुभएको छ ।