वृद्धा भत्ता बढेपछि जेष्ठ नागरिक उत्साहित, भन्छन्– अब यही सरकारलाई भोट हालिन्छ

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–११ की शुभद्रादेवी पोखरेल उमेर ९० वर्ष पुगिन् । केही समय अघिदेखि सामाजिक सुरक्षा भत्ता उनका लागि राहत नै बनेको छ ।

अपुग नै भएपनि औषधिमूलोका लागि उनलाई वृद्धा भत्ताले सहयोग गरिरहेको थियो । चालु आर्थिक वर्षसम्म उनले मासिक तीन हजार भत्ता थाप्दै आएकी थिइन् । तर आगामी आर्थिक वर्षदेखि सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेपछि उनको खुसी पनि थपिएको बनेको छ ।

शनिबार सिंहदरबारमा आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको बताएका हुन् । यससँगै मासिक ३ हजार बृद्धभत्ता पाउँदै गरेका ज्येष्ठ नागरिकले अव ४ हजार पाउने छन् । सामाजिक सुरक्षा शीर्षकमा सरकारले १ खर्ब बजेट विनियोजन गरेको छ ।

सामाजिक सुरक्षा भत्ताको वृद्धिले ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ । सुन्दरहरैँचाकी शुभद्रा भन्छिन्, ‘अगाडिदेखि नै बढ्ने कुरो थियो । पाँच हजार बनाउने कुरा सुनेकी थिएँ । खुसी त्यति बेलादेखि नै थिएँ । भनेजति नभए पनि चार हजार बनाइदिएको छ । सरकारले निकै राम्रो काम गरेको छ, यसबाट खुसी छु ।’

उनी यो सरकारले भत्ता बढाएको भन्दै आगामी निर्वाचनमा केपी ओलीलाई नै भोट दिने बताउँछिन् । यस्तै, सुन्दरहरैँचा–११ कै बमबहादुर बस्नेत पनि सामाजिक सुरक्षा भत्ता बढेकोमा खुसी छन् । ७८ वर्षीय बस्नेत पनि भत्ता बढेकोप्रति उत्साहित छन् । उनकी श्रीमती कृष्णमाया बस्नेतको खुसी पनि यस्तै छ । ‘खुसी छौँ अब औषधिमुलो गर्ने खर्च पुग्छ ।

यसअघि पुगनपुग थियो । तागतिलो खानेकुरा खान पनि पुग्छ ।’सोही स्थानकी ८३ वर्षीया विनता तिमल्सिनालाई सुगर, प्रेसरको औषधिका लागि वृद्धा भत्ताले जसोतसो पुग्थ्यो । तर महिनामा चार हजार आउने भएपछि फलफूल तथा तागतिलो खानेकुरा पनि किन्न पुग्ने भन्दै विनता उत्साहित हुन्छिन् ।

त्यस्तै खुसी छ स्थानीय ७० वर्षीय बलराम रिजाल र ७७ वर्षीया मनमाया घिमिरेमा पनि । उनीहरू पनि सरकारले सामाजिक सुरक्षा भत्ता मासिक चार हजार पुर्‍याउने निर्णयबाट उत्साहित छन् ।