भाते बानीले रैथाने बाली लोप हुँदै

काठमाडौ। स्थानीय बाली परिकारको सट्टा तराईबाट आयतीत चामल लगायत खाने कुरा बढी प्रयोग गर्न थालेपछि स्थानीय बाली लोप हुँदै गएका हुन्। मोटर बाटोबाट सयौँ क्विन्टल चामल ढुवानी भई सस्तोमा उपलब्ध भएपछि यहाँका कृषकमा अल्छीपन छाएको हो। सस्तोमा उपलब्ध चामल पाउने भएपछि काउनी, चिनोजस्ता स्थानीय बाली लोप हुँदै गएको छायानाथ रारा नगरपालिका(४ कृषक रामबहादुर रावलले बताउनु भयो ।

मुगुमा २०६९ साल पुस १ गते मुगु सडक संजालमा जोडिएसँगै मोटर बाटोबाट चामल भित्रिन थालेपछि ‘अर्गानिक’ अन्न उत्पादन खस्किँदै गएको छ। यहाँ तराईको चामल भित्रिनुभन्दा पहिला चिनो, काउनीलगायतका रैथाने बाली पहिलेपहिले भातका रूपमा खाने गरिन्थ्यो। अहिले खाद्य संस्थान तथा व्यापारीले चामल भित्र्याएपछि यहाँका किसानले स्थानीय बाली लगाउन छोडेको रावलको भनाइ छ।

उहाँका अनुसार रैथाने बाली लगाउन छोडेका मुगुवासी अहिले तराईको चामलको भरमा छन्। लामो समय मोटरबाट अवरुद्ध भएर यहाँ भोकमरी हुने निश्चित रहेको रावल बताउँछन्। भौगोलिक अवस्थाका कारण मुगुलगायत कर्णालीका जिल्लामा ६ महिना खेती गरिन्छ भने ६ महिना खेत बाँझै रहन्छ। विगतका वर्षमा पनि मुगुलगायत कणलीका जिल्लामा भोकमरीले सताउँदै आएको जानकारहरू बताउछन्।

पहिला काउनी, चिनो, मार्से छिटो पाक्ने र भोकमरीलाई हटाउने विश्वासका साथ लगाइने गरिएको बूढापाकाको भनाइ छ। जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार, मुगमा १८ सय हेक्टर खेतीयोग्य जमिन छ। परम्परागत खेतीबालीले ढाकेको क्षेत्र क्रमशः घट्नुका साथै उत्पादनमा घट्दै गएको पाइको कार्यालयले जनाएको छ। स्थानीय उत्पादनले ५ महिनाका लागि मात्र खान पुग्ने र ७ महिना नपुग्ने भएकाले यहाँ किसान खेतीपाती गर्न छाडेको हुन्।

चामलको सहजता तथा भात खानेबानीले पनि रैथाने बाली उत्पदान गर्नका अल्छीपन छाएको कृषि जिल्ला कृषि विकास कार्यलय मुगुका प्रमुख केवि रोकायाले बताउनु भयो। ‘परम्परागत खानेकुरा खाँदा हामी तल पर्छौँ, हामी गरीब हुन्छौँ भन्ने धारणले परम्परागत खेतीको क्षेत्रफल घट्दै गहेको र रैथाने बालीपनी लोप हुँदै गएका छन्’ उहाँले भन्नु ‘विगतमा हाम्रा पुर्खाले गर्दै आएको परम्परागत खेतीबाली छोड्दै जानु राम्रो होइन।’ यसलाई आधुनीकरण गरी स्थानीय बालीको उत्पादनमा निरन्तरता दिन आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ।

कोदो कुहिँदै मुगुमा अझै पनि अन्य बालीको तुलनामा कोदो खेती बढी मात्रामा गरिँदै आएको छ। तर, भात खाने बानीले खेती गरिएको कोदो पनि कुहिँदै जान थालेको छ। चामलको माग बढ्दै जाने र स्थानी स्तरमा उत्पादन गरिएको कोदोको माग घट्दै जान थालेको यहाँका स्थानीय किसानले बताएका छन्। मुगुमा खेती गरिने कृषि खाद्य बालीमा सबैभन्दा बढी कोदो खेती गर्ने गरिन्छ। यद्यपि पहिले खोजीखोजी खाने कोदो अहिले खानै छाडेपछि त्यतिकै कुहिँन थालेको हो।

मोटरबाटो हुँदै चामल भित्रिन थालेपछि कोदो खाना छोडेकाले कुहिँदै गहेको छायानाथ रारा नगरपालिका ११ का कृषक राजु बिकले बताउनु भयो। ‘चामलको सहजता नहुँदा कम खेतीयोग्य जमिन भएका कृषक खाद्यान्नको जोहो गर्न बढी खेतीयोग्य जमिन भएकाको घरमा गई कोदो खरिद गरी ल्याएर खाने गर्थे’ उनले भने ‘आजभोलि छैन त्यस्तो अवस्था छैन।’ दुई चार पैसा कमाउने हो चामल किनेर खाने हो भन्ने प्रचलनले पनि कोदोको प्रयोग कम हुन थालेको स्थानीय कृषक बताउँछन्। यो समाचार थाहा खबरमा नन्दबहादुर रोकायाले लेख्नु भएको छ ।