‘ओलीले आफ्नो लोकप्रियताको लागि दस्तावेज ल्याए’- पूर्वमन्त्री महत

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री मन्त्री डा. प्रकाशशरण महतले काम चलाउ सरकारले ल्याएको बजेट संवैधानिक र व्यवहारिक रुपमा पूर्णरुपमा असफल भएको टिप्पणी गरेका छन्।

सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्ष ०७८/७९ को १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएपछि महतले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘संविधानको मुल मर्म र भावना विपरित सरकारलाई निरन्तरता दिइएको छ। सरकारले ल्याएको यस्तो बजेटप्रति हाम्रो गम्भीर आपत्ति छ।’ कोरोना महामारीको बेलामा कामचलाउ सरकारले चुनाव केन्द्रित बजेट ल्याएको आरोप लगाए।

‘संवैधानिक प्रक्रियाबाट सरकार आउदा व्यवहारिक धरातलका लागि फेरि बजेट ल्याउनुपर्छ। त्यसैले यो बजेटको अर्थ महत्वपूर्ण ठानेका छैनौँ’ उनले भने। जनतामा भ्रम र आश्वासनको पोको मात्रै बाडेको उनले सुनाए। ‘पहिलेजस्तै सरकारले जनतालाई आश्वासनको पोको बाडेको छ। अहिले पनि त्यसलाई पुनरावृत्ति गरेको छ’ उनले भने,‘एक तिहाई बजेट विदेशी ऋणबाट चल्ने भनिएको छ।

ठूलो आकारको बजेट ल्याएको छ। त्यो अवस्था अहिले देखिएको छैन।’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नरहे पनि आफ्नो लोकप्रियता देखाउन दस्तावेज प्रकाशित गरेको उनले आरोप लगाए। ‘कर छुट गर्ने घोषणा गरेको छ। त्यसमा नीतिगत भ्रष्टाचार हुन्छ। हामीले पहिला पनि त्यो देखेका हौँ’ उनले भने, ‘कुनमा कर छुट दिने नदिने भन्ने बिषयमा हामीले हेर्न बाँकी छ। त्यसमा भ्रष्टाचारको कुरा लुकेको हुनसक्छ।’

सरकारको वैधानिकतामाथि प्रश्न उठेको बेलामा बजेटको अर्थ नभएको उनले दाबी गरे। सरकारले कुरा गर्ने काम नगर्ने प्रवृत्तिलाई निरन्तरता दिन बजेट ल्याएको बताए।