हिमालको पानी विदेश पठाइने, बालुवा निर्यात गरेर व्यापार घाटा कम गरिने

काठमाण्डाै – सरकारले नेपालका मौलिक उत्पादनको निर्यातलाई जोड दिने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा अलैँची, चिया, कफी लगायत मौलिक उत्पादनलाई निकास प्रवर्द्धन गरिने उल्लेख छ ।

यस्तै नेपालको हिमालको पानीलाई प्रशोधन गरेर विदेश निर्यात गर्न निजी क्षेत्रलाई हौसला दिने उल्लेख छ । यस्तै नदीजन्य पदार्थ निर्यात गरेर व्यापार घाटा कम गरिने बजेटमा उल्लेख छ । बालुटा, ढुङ्गा र गिटीको निर्यात गर्न प्रोत्साहन र छुट दिने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।