जेम्स रोड्रिग्वेजले कोपा अमेरिका गुमाउने

कोलम्बियाका स्टार फुटबलर जेम्स रोड्रिग्वेजलेकोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न नपाउने भएका छन् । कोलम्बियाली राष्ट्रिय टिमका मेडिकल स्टाफले रोड्रिग्वेजको फिटनेस राम्रो नरहेको निष्कर्ष निकालेपछि उनी टोलीबाहिरै परेका हुन् ।

इङल्यान्डमा आफ्नो पहिलो सिजन रोड्रिग्वेजले चोटसँग संघर्ष गर्नुप¥यो । कोपा अमेरिकाका लागि पर्याप्त तयारीको समय दिन एभर्टनले लिगको अन्तिम खेलमा उनलाई समावेश गरेको थिएन, यस खेलमा एभर्टन म्यानचेस्टर सिटीसँग ५–० ले पराजित भयो ।

‘कोलम्बिया टिमका प्रशिक्षण कर्मचारीहरुले जेम्स रोड्रिग्वेजलाई पेरु र अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेल र कोपा अमेरिका २०२१ मा समावेश नगर्ने जानकारी गराएका छन्,’ कोलम्बियाली फुटबल संघको विज्ञप्तिमा उल्लेख छ,‘पछिल्लो दिनमा मिडफिल्डरले स्वास्थ परीक्षण गराएका थिए ।

जसबाट प्रतिस्पर्धामा लागि आवश्यक माथिल्लो तहको फिटनेस उनका नरहेको देखियो । यहीकारण प्रशिक्षक रिनाल्डो रुइडाले उल्लेखित खेल र दक्षिण अमेरिकी प्रतियोगिताका लागि बोलाएका खेलाडीहरुको समूहमा उनी समावेश हुनेछैनन् ।’

रोड्रिग्वेजले कोलम्बियाबाट ८० खेल खेल्दै २३ गोल गरेका छन् । त्यस्तै, २५ पटक गोलका लागि अवसर सिर्जना गरेका छन् ।