भेरी अस्पतालमा सुरक्षा बढाइयो, २५ प्रहरी तैनाथ

काठमाडौं। नेपालगञ्जको भेरी अस्पतालमा सुरक्षा थप बढाइएको छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र आक्रमण हुने क्रम बढेपछि सुरक्षा थप बढाइएको हो।

आजदेखि अस्पतालमा प्रहरी नायव निरीक्षक (सई)को कामाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) सहित २५ जना प्रहरी भेरी अस्पतालमै बस्ने गरी खटाइएको छ।

बिहीबार राति दाङका एक कोरोना संक्रमितको उपचारका क्रममा मृ’त्यु भएपछि मृतकका आफन्तले आईसीयू कक्षमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए। धेरै व्यक्तिले भौतिक आक्रमण गर्दै घाँटी थिच्न आएपछि ड्युटीमा खटिएका चिकित्सक तथा नर्सले ट्वाइलेटको झ्यालबाट हाम्फालेर ज्यान जोगाएका थिए।

अस्पतालमा पूर्ण सुरक्षा दिने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि अस्पतालका सबै सेवा यथावत् सञ्चालनमा आएको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. प्रकाश थापाले बताए।