गणतन्त्रको दोष छैन, सञ्चालकमा दोष जान्छ : कृष्ण सिटौला

आज गणतन्त्र दिवसका दिन कतिपय मानिसहरुले व्यवस्थामाथि नै प्रश्न उठाइरहेका छन् । गणतन्त्रले देशलाई के दियो भन्दै प्रश्न गर्नेहरुदेखि राजतन्त्र फर्काउनुपर्छ भन्नेसम्मका तर्क–वितर्क आजका दिनमा सुनिँदैछन् । कतिपयले व्यवस्था नै संकटमा परेको तर्क गर्दैछन् ।

वृहत् शान्ति सम्झौता हुँदै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन भुमिका खेल्ने नेतामध्येका एक काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने व्यवस्थालाई नै दोष देखाउन नमिल्ने बताउँछन् । यसमा व्यवस्थाकै दोष नभएर सरकार सञ्चालकहरुको मात्रै दोष रहेको उनको विश्लेषण छ ।

‘कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले जनता र राष्ट्रको हितमा काम गर्न नसकेका कारण जनताको मनोवल गिरेको छ, जनता निराश छन्’ सिटौला भन्छन्,‘गणतन्त्र अन्र्तगतको शासन व्यवस्था जनताका लागि सदुपयोग हुनुपर्ने हो, त्यो हुन सकेको छैन । जसका कारण व्यवस्थामाथि होइन, व्यवस्था सञ्चालकहरुमाथि अत्यन्त ठूलो दोष जान्छ ।’

अहिले भएको संसद विघटनलाई पनि सर्वोच्च अदालतले बदर गर्ने र संविधान पुनः ट्रयाकमा आउने सिटौलाको दाबी छ । संविधानको धारा ७६ (५) अन्तरगतको सरकार गठनमा दलको ह्वीप नलाग्ने विधायकी मनसाय रहेको उनले बताए ।