सरकारका हरेक पाइलामा व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ : ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका हरेक पाइलामा आफूहरुले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको सुनाएका छन् । गणतन्त्र दिवसको अवसरमा आज जंगी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्तव्यको क्रममा उनले भनेका छन्-“गणतन्त्र दिवसको यस अवसरमा सरकार निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना आज कसरी भयो भनी स्पष्ट गर्नु सान्दर्भिक ठान्दछु। मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरुप जारी घोषणापत्रअनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरुसमक्ष अवगत नै छन् ।

तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ।जनताका लागि होइन, सत्ता आकाङ्क्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो।

मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुग्यो।सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ ।”