प्रधानमन्त्रीलाई ब्यङ्ग्य गर्दै भीम रावलले लेखे यस्तो कविता

खनाल-नेपाल पक्षका एमाले नेता डा. भीम रावलले गणतन्त्र दिवसको शुभकामना दिँदै एक कविता लेखेका छन् । ट्वीटरमार्फत उनले सार्वजनिक गरेको कविता प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापप्रति लक्षित रहेको छ ।

उनले मनपरीतन्त्र, निरंकुशतन्त्र, विधेयकतन्त्र, लम्पसारतन्त्र, कमिशनतन्त्र र राष्ट्रघाततन्त्रबाट देशले मुक्तिपाओस् भन्दै शुभकामना दिएका छन् ।

खनाल-नेपाल पक्षका एमाले नेता डा. भीम रावलले लेखेका छन्:

अस्त र व्यस्त समाजै त्रस्त रमाउँछौ यसैमा
बेथिति अति बिगारेउ मति संकट ल्याई यो देशमा,
भय र त्रास फैलाई यहाँ सबैलाई तर्साउँछौ
न्यायका हकी देशभक्तमाथि शब्दबाण बर्साउँछौ ।

षड्यन्त्र जाल बनिन्छन् तिम्रा सामन्त साथमा
अधिकार छिन्छौ विधिलाई मिच्छौ अँधेरी रातमा,
अतृक्ष्प तिम्रो सत्ताको भोक कहिले हो मेटिने
स्वाधीनतासँगै स्वाभिमान भन्ने कहाँ हो भेटिने ?

विधि र विधान नैतिकता तिमीले के साह्रो मिचेको
कुर्सीको खेलमा स्वर्थको झेलमा चुर्लुम्मै डुबेको,
नक्कली कुरा फैलाई सधैँ नठान टिकिन्छ
जनाधिकार मास्ने, राष्ट्रलाई नास्ने गलेर नाश हुन्छ ।