काेभिड उपचारमा अस्पतालकाे लुट : २४ दिनमा २० लाखकाे बिल, रहेनन् बिरामी !

काेभिड १९ संक्रमितकाे उपचारकाे नाममा काठमाडाैंकाे बसुन्धारामा रहेकाे कान्तिपुर डेण्टल अस्पतालले १६ लाख १५ हजार ५ सय रुपैयाँ बिल जारी गरेको छ ।

धादिङका ४९ वर्षीय केदार बहादुर अधिकारीकाे उपचारमा अस्पतालले १६ लाख १५ हजार ५०० बेड चार्ज लिएकाे खुल्न आएकाे हाे । गएकाे वैशाख २० गते अधिकारी अस्पताल भर्ना भएका थिए । उनकाे बिहीबार निधन भएकाे छ ।

२४ दिनकाे उनकाे अस्पताल बसाइकाे चार्ज १६ लाखभन्दा बढी भएकाे अस्पतालले जनाएकाे हाे । यसका अतिरिक्त ४ लाख ३५ हजार २९९ रुपैयाँ फार्मेसीबाट औषधिकाे शुल्क लिइएकाे छ ।

काेभिड संक्रमित बिरामीकाे उपचारकाे नाममा अस्पतालले लुट मच्चाएकाे बिरामीका आफन्तले गुनासाे गरेका छन् । बिरामीका एक आफन्तले सुनाैलाे नेपालसँग भने ‘१३/१४ दिन आईसीयूमा बिरामी राखिएकाे बिल यतिधेरै आएकाे छ । अस्पताल प्रशासनले बिल तिर्न भनेकाे छ । काेभिड संक्रमितकाे उपचारकाे बिरामीलाई यति धेरै शुल्क लिन मिल्छ ?’ उनले प्रश्न पनि गरे ।

अस्पतालका सञ्चालकसमेत रहेका वरिष्ठ डेन्टल सर्जन बुद्धिमान श्रेष्ठसँग हामीले यस विषयमा बुझ्न खाेज्याैँ । उनले आफू बाहिर रहेकाे र यस विषय अस्पतालमा सम्पर्क गर्न सुझाए । उनले भने ‘याे विषयमा अस्पतालमा गएर बुझ्नुहाेला, उहाँहरुले सबै मापदण्ड हेरेर र बुझेर निर्णय लिनुभएकाे हाेला ।’

सञ्चालक श्रेष्ठ स्याङ्जाकाे चापाकाेट नगरपालिकाका हुन् । उनी यसअघि चापाकाेटमा एमालेको तर्फबाट मेयरमा पराजित भएका थिए । उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।