रेड्मी ‘नोट १० प्रो’को क्यामरा गुणस्तर आइफोन भन्दा राम्रो

प्राय गुणस्तरीय क्यामरा प्रदर्शन भएको स्मार्टफोन किन्दा धेरैको रोजाइमा आइफोन वा सामसङ पर्ने गर्छ। हालै गरिएको एक परीक्षणको अनुसार भने चिनियाँ स्मार्टफोन कम्पनी साओमीको नयाँ फोनको क्यामरा प्रदर्शन आइफोन भन्दा राम्रो भएको बताइएको छ।

साओमीको ‘रेड्मी नोट १० प्रो’ मोडलले सन् २०२० मा सार्वजनिक भएको आइफोन एसइलाई क्यामरा प्रदर्शनमा जितेको ग्याजेट ३६०ले जनाएको छ। डिएक्सओमार्कले गरेको क्यामरा परीक्षणमा ‘रेड्मी नोट १० प्रो’ प्रदर्शन आइफोन एसइको तुलनामा धेरै राम्रो रहेको प्रमाणित भएको छ। डिएक्सओमार्कले स्मार्टफोन र अन्य उपकरणको मूल्यांकन गर्न त्यसका क्यामरा, सेल्फी, अडियो, डिस्प्ले र ब्याट्री पदर्शनको वैज्ञानिक परीक्षण गर्छ।

गत मार्च २४ मा सार्वजनिक भएको ‘रेड्मी नोट १० प्रो’मा चारवटा क्यामरा छ, जसको मुख्य क्यामरा १०८ मेगापिक्सलको प्राइमरी सेन्सरले बनेको छ। यही फिचरका कारण यस स्मार्टफोनबाट खिचिने फोटो गुणस्तरीय देखिन्छ। यसैगरी आइफोन एसइको पछाडिपट्टि १२ मेगापिक्सलको क्यामरा छ भने यसको सेल्फी क्यामरा ७ मेगापिक्सलको छ।

डिएक्सओमार्कको परिक्षणमा ‘रेड्मी नोट १० प्रो’बाट खिचिएको फोटोले १११ अंक र आइफोन एसइको फोटोले १०८ अंक पाएको ग्याजेट ३६०ले लेखेको छ । भिडियो प्रदर्शनमा भने आइफोन एसइले ‘रेड्मी नोट १० प्रो’लाई पछि पारेको छ। आइफोन एसइबाट खिचिएको भिडियोले १०५ अंक पाएको, तर ‘रेड्मी नोट १० प्रो’को क्यामराबाट खिचिएको भिडियोले जम्मा ९५ अंक पाएको डिएक्सओमार्कको भनाइ छ।