कुपेश्वरनाथ महादेव मन्दिरमा मूर्ति सहित रकम चोरी

जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति मूर्ति सहित दान पेटिकामा रहेको रकम चोरी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ स्थित कुवारामपुरमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरको मुलद्वारको ताल्चा तोडेर मुर्ति र धनमाल सहितका विभिन्न सामग्रीहरु चोरी भएको हो ।

राति अविरल वर्षा भएको र मन्दिरमा कोही नरहेको मौका छोपी २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको रकम समेत चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

केही दिन अगाडी मात्रै मन्दिरका महन्थले गुठी संस्थानलाई पत्र लेखेर मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।