नेपालकी कल्पना परियारले पाइन् ओलम्पिकको वाइल्डकार्ड

नेपालकी सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाउन वाइल्डकार्ड प्राप्त गरेकी छिन् । कल्पनाले अब १० मिटर एयर राइफलमा नेपालको प्रतिनिधित्व गरी टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् । उनीसँगै ओलम्पिकमा नेपालबाट प्रतिस्पर्धा गर्ने खेलाडीको संख्या चार पुगेको छ ।

यसअघि पौडीका गौरिका सिंह, एलेक्स साह र म्याराथनका गोपीचन्द पार्की छनोट भएका थिए । टोकियो ओलम्पिकमा नेपालबाट वाइल्डकार्डबाट प्रतिस्पर्धा गर्ने कल्पना पहिलो नेपाली खेलाडी बनेकी छिन् । टोकियो ओलम्पिक सुरु हुन सय दिन पनि छैन । यस वर्षको २३ जुलाईदेखि ८ अगस्तसम्म ओलम्पिक टोकियोमा हुँदै छ । टोकियोमा कोरोनाको महामारी चलिरहँदा पनि आयोजकले सुरक्षित तरिकाले ओलम्पिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । यद्यपि, जापानमा एकथरी समूहले यसवेला ओलम्पिक गर्नु कोरोना महामारी फैलाउनेबाहेक अन्य नभएको भनी विरोध गरिरहेको छ ।

एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकको लगभग सबै तयारी आयोजकले गरिसकेको छ । टोकियो ओलम्पिक हुने वा नहुने आशंकाबीच वाइल्डकार्ड प्राप्त गरेपछि सुटिङकी कल्पना भने निकै खुसी छिन् । ‘वाइल्ड कार्ड पाएको थाहा पाएपछि खुसीको सीमा नै रहेन,’ कल्पनाले भनिन् । ओलम्पिकको छात्रवृत्तिमा १२ जना खेलाडी एक वर्षदेखि ओलम्पिकको तयारीमा छन् । कल्पना पनि त्यहीँ छात्रवृत्तिअन्तर्गत टोकियो ओलम्पिकको तयारीका लागि एक वर्षदेखि प्रशिक्षणमा रहँदै आएकी छिन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन एक वर्षदेखि राम्रो तयारी भइरहेको उनले बताएकी छिन् । भन्छिन्, ‘हामी एक वर्षदेखि प्रशिक्षणमा छौँ ।’ खेलाडीहरूलाई एभरेष्ट होटेलमा राखेको छ । अहिले ओलम्पिकको तयारीका रूपमा दिनमा सुटिङको दुईपटक प्रशिक्षण हुन्छ । बिहान १० देखि १२ र दिउँसो दुईदेखि चार बजेसम्म प्रशिक्षण भइरहेको वाइल्डकार्ड प्राप्त गरेकी कल्पनाले जानकारी दिएकी छिन् । ‘बिहान ब्रेकफास्ट र लन्चब्रेकपछि दुई–दुई घन्टा सातदोबाटोको सुटिङ रेन्जमै प्रशिक्षण हुन्छ,’ उनले भनिन् ।

अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भन्दा ओलम्पिकको तयारी फरक रहेको उनको अनुभव छ । ‘यसपटकको प्रशिक्षण फरक पाएका छौँ, बस्नेदेखि प्रशिक्षणसम्म सुविधासम्पन्न नै छ,’ कल्पना भन्छिन् । लुम्बिनीमा भएको लुम्बिनी च्याम्पियन्सिपमा पहिलोपटक राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी कल्पनाले त्यसपछि निरन्तर रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आइरहेकी छिन् । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन खेलकुद र १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत सुटिङमा उनले सहभागिता जनाएकी थिइन् ।

अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकै कारण टोकियो ओलम्पिकमा आफ्नो प्रदर्शन राम्रो नै हुने कल्पनाको विश्वास छ । भन्छिन्, ‘टोकियोमा त्यति फरक त नहोला । त्यहाँ नर्भस नभईकन प्रतिस्पर्धा गर्छु ।’ ओलम्पिकमा आत्तिएरभन्दा सामान्य तरिकाले प्रदर्शन गर्ने लक्ष्य उनले राखेकी छिन् । ‘ओलम्पिकजस्तो प्रतियोगितामा आत्तिएर प्रतिस्पर्धा गर्नु काम छैन, हतार नगरी खेल्छु,’ ओलम्पिकको बारेमा उनी भन्छिन् ।

अथक प्रयासमा वाइल्डकार्ड
नेपाल ओलम्पिक कमिटी (एनओसी)का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चुनरानन्दराज वैद्यले धेरै प्रयासपछि सुटिङमा वाइल्डकार्ड प्राप्त गरेको जानकारी दिएका छन् । ‘एनओसी र नेपाल सुटिङ संघको अथक प्रयासपछि यो वाइल्डकार्ड प्राप्त भएको हो,’ एनओसी उपाध्यक्ष वैद्यले भने । सम्बन्धित ओलम्पिक कमिटी तथा संघको गतिविधिअनुसार मात्र वाइल्डकार्ड प्राप्त हुने उनले बताए ।

‘वाइल्डकार्ड सहज रूपमा प्राप्त गर्न सकिँदैन, यससँग सम्बन्धित निकायले ओलम्पिक कमिटी र संघको गतिविधि पूरै हेर्छ, त्यहीअनुसार वाइल्डकार्ड प्राप्त गर्ने हो,’ एनओसीका उपाध्यक्ष वैद्यले भने, ‘सुटिङमा कतिवटा वाइल्डकार्ड रहेको छ, त्यसबारेमा जानकारी भएन ।’ एनओसीका उपाध्यक्ष वैद्यले टोकियो ओलम्पिक हुने बताएका छन् । ओलम्पिक नहुने हो भने वाइल्डकार्ड पनि नपाउने उनको तर्क छ ।

‘यदि टोकियो ओलम्पिक नै नहुने हो भने किन वाइल्डकार्ड दिन्छ ?,’ उनले भने, ‘वाइल्डकार्ड इस्सु गर्नु भनेको नै ओलम्पिक हुनु मान्नुपर्छ ।’ ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाउन खेलाडीहरूले सीधा छनोट प्रतियोगिता खेल्नुपर्छ । छनोट प्रतियोगितामा असफल भए खेलाडी वाइल्डकार्डको माध्यमबाट पनि ओलम्पिक खेल्न सक्ने प्रावधान छ । यसैअनुरूप सुटिङकी कल्पनाले वाइल्डकार्ड प्राप्त गरेकी हुन् ।

दक्षिण एसियामा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि धेरैजसो ओलम्पिक छनोट खेल आयोजना गरेका राष्ट्रले यी देशका खेलाडीलाई कडा नियम बनाएको छ । भिसा निवेदनदेखि क्वारेन्टिनसम्म कडा बनाएका कारण नै कतिपय खेलका खेलाडीले छनोट खेलमा सहभागिता जनाउन नपाएको उनले बताए । ‘धेरैजसो राष्ट्रहरूले कोरोनाको अति जोखिम भएको देश भनी भारत, बंगलादेश र नेपाललाई भिसा नै उपलब्ध गराएन ।

वैद्यले भने, ‘जसका कारण तेक्वान्दोका खेलाडीले छनोट खेल खेल्न पाएनन् ।’ उनका अनुसार भारोत्तोलन, कराते, तेक्वान्दो, जुडो, बक्सिङ पनि वाइल्डकार्ड पाउने वेटिङ लिस्टमा छ ।