गणतन्त्रका विरोधीहरूले यसका मूल्यमान्यतामाथि प्रहार गरिरहेका छन् : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको जनाएका छन्। प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने प्रचण्डको भनाइ छ।

शनिबार गणतन्त्र दिवसको अवसर पारेर शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ। प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ।’

संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षाका लागि लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य रहेको प्रचण्डको भनाइ छ। ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ’ सन्देशमा उनले भनेका छन्।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न उनले अपिल गरेका छन्।

पछिल्लो समयमा फैलिएको यस भाइरसको दोस्रो लहरले नेपालमा धेरै व्यक्तिको ज्यान गएको भन्दै प्रचण्डले स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताएका छन्।

‘कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको छ। यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ सन्देशमा भनिएको छ।

गणतन्त्र दिवको अवसरमा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले बेपत्ता एवं घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गरेको जनाएका छन्।