
असोज ९, २०७६
काठमाडौं– सर्पले आफूलाई खतरा महसुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्ने गर्छ ।
जब मानिसले झुक्किएर वा जानाजान सर्पलाई चलाउन पुग्छ, तब सर्पले आफ्नो प्रतिरक्षास्वरूप टोक्न पुग्छ । अधिकांश सर्पदंशका घटना समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा हुने गर्दछ ।
जोगिने उपाय-
- सर्पलाई जथाभावी रूपमा समात्न खोज्ने, जिस्क्याउने र छुने गर्नुहुँदैन ।
- घरवरिपरि सर्प बस्न सक्ने सम्भावित ठाउँजस्तै दाउराको चाङ, काठ, पराल, इट्टा, ढुंगा आदि बेलाबेलामा सफा गरिराख्नुपर्छ ।
- घरको वरिपरि दुलो छ भने त्यसलाई तुरून्त टालिहाल्नुपर्छ ।
- साना केटाकेटीले खेल्दाखेल्दै सर्प बस्न सक्ने सम्भावित ठाउँमा हात हाल्न सक्ने भएकाले उनीहरूलाई सावधान हुन सिकाउनुपर्दछ ।
- घरभित्र मुसा छिर्न दिनुहुँदैन ।
- कुखुरा, हाँस, परेवाआदिको खोर पनि घरभित्र बनाउँनुहुँदैन ।
सर्पले टोकेमा-
- नआत्तिनुहोस्, नडराउनुहोस् र बिरामीलाई सान्त्वना दिनुहोस् ।
- बिरामीलाई आरामदायी र सुरक्षित तरिकाले पल्टिन लगाउनुहोस् ।
- कसिने गरी लगाएको लुगा वा गहना खोलिदिनुहोस् ।
- टोकेको हात वा खुट्टालाई हलचल हुन नदिई स्थिर राख्नुहोस्, यसका लागि स्प्लिन्ट वा स्लिङको प्र्रयोग गर्न सकिन्छ ।
- टोकाइको अवस्था हेरी धेरै कसिलो नहुने गरी ब्इान्डेज प्रयोग गर्नुहोस् ।
- प्रेसर इमोबिलाइजेसन ब्यान्डेजिङ (पिआइबी) उपलब्ध नभएको अवस्थामा लोकल कम्प्रेसन प्याड इमोबिलाइजेसन (एलसीपीआई) अर्थात् कपडाको टुक्रालाई ब्यान्डेजको रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।
- बिरामीलाई जतिसक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुहोस् ।
सर्पले टोकेको बेलामा के नगर्ने ?
- समय खेर फाल्नुहुँदैन टोकेको हात वा खुट्टा हलचल गराउनुहुँदैन, दौडनुहुँदैन ।
- टर्निक्वेटले कसेर बाँध्नुहुँदैन ।
- टोकेको ठाउँ काटुने, जलाउने र चुस्ने गर्नुहुँदैन ।
- टोकेको ठाउँ चिरेर रगत झार्ने गर्नुहुँदैन ।
- टोकेको ठाउँमा मलम वा जडीबुटी लगाउनुहुँदैन ।
- पोटासियम परम्याग्नेटको प्रयोग गर्नुहुँदैन ।
- विद्युतीय झट्का दिने काम गर्नुहुँदैन ।
- कुनै पनि आयुर्वेदिक वा अन्य औषधि डाक्टरको सल्लाहबिपरीत प्रयोग गर्नुहुँदैन ।
- तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ । नयाँ पत्रिकामा खबर छ ।