‘ओली मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भासतर्फ लैजान उद्यत छन्’ – खनाल

काठमाडौं- नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ’कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको बताएका छन्। इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको नेता खनालको भनाइ छ।

गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै नेता खनालले ओलीले आफूहरु जस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेको आरोप लगाएका छन्।

ओलीले निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेको र यस क्रियाकलापबाट उनी पार्टी संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भास तर्फ लैजान उद्धत छन् भन्ने कुरा प्रष्ट भएको नेता खनालको भनाइ छ।

‘पार्टी भित्र उत्पन्न दक्षिणपन्थी अवसरवादी सोंच, चिन्तन र गतिविधिका विरुद्ध दृढता पुर्वक बैचारिक संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा निर्माण गर्न, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्व बनाउन, प्रतिगमन बिरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, कोरोना महामारीको नियन्त्रणका लागि एकताबद्द भएर परिचालित हुन र समाजवादको बाटोमा दृढतापूर्बक अगाडि बढ्न म सबैमा हार्दिक आह्वान गर्दछु’ नेता खनालले सन्देशमा भनेका छन्।