कोरोना नियन्त्रणमा आएको भन्दै सरकारले खुकुलो पार्ने भयो लकडाउन

कोभिड महामारीको दोस्रो लहर नियन्त्रणमा आउन लागेको संकेत देखिएको भन्दै भारत दिल्ली राज्य सरकारले सोमबारबाट लकडाउनलाई खुकुलो बनाउने भएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले पहिलो चरणमा निर्माण व्यवसाय तथा कारखानाहरु खोल्ने बताएका छन्। तर उनले भनेका छन्, ‘यसको अर्थ घातक भाइरससँगको लडाइँ सकियो भन्ने होइन।’ ‘यो लकडाउन खोल्न सुरु गर्ने समय हो। भाइरसबाट जोगिने तर भोकका कारण मर्ने भन्ने हुँदैन। हामीले कोरोना भाइरसको नियन्त्रण र आर्थिक गतिविधिलाई सन्तुलनमा अघि लैजानु पर्छ,’ अनलाइनबाट गरिएको पत्रकार सम्मेलनमा केजरिवालले भने।

पत्रकार सम्मेलनमा दिल्ली विपत व्यवस्थापन प्राधिकरणको शुक्रबार भएको बैठकले लकडाउन क्रमैसँग खोल्दै जाने निर्णय गरेको बताए। उनले सुरुमा दिल्लीमा जीविकोपार्जनका लागि टाढाबाट आएका तल्लो तहका मानिसमा दैनिक ज्यालादारी, आप्रवासी कामदार र मजदूरलाई ध्यानमा राखेर लकडाउन खुला गर्न लागिएको बताए। ‘यही विषयलाई ध्यानमा राखेर कारखाना र निर्माण कार्यलाई एक साता खोल्ने निर्णय गरेका हौं,’ उनले भने।

उनले प्रत्येक साता विज्ञ तथा जनताको धारणा लिएर लकडाउन खुकुलो बनाउँदै लैजाने बताए। लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको संख्या बढे त्यसलाई रोकिने बताए। पछिल्लो २४ घण्टामा दिल्लीमा ११ सय नयाँ बिरामी फेला परेका छन्। परीक्षण गरिएकामध्ये संक्रमित हुनेको अनुपात १ दशमलव ५ प्रतिसत रहेको छ।