काठमाडाैंका मेयरले भने : कसैले नदेख्ने गरी सुटुक्क खाना खुवाउनु

काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक ठाउँमा नभई कसैले नदेख्ने गरी सडकमा रहेका व्यक्तिहरुलाई सुटुक्क खाना खुवाउन आग्रह गरेका छन्। प्रमुख शाक्यले सार्वजनिक ठाउँमा नि:शुल्क खाना खुवाउने काम राम्रो नभएको बताएका हुन्।

विशुद्ध मानव धर्मका लागि काम गर्नुपर्ने बताउँदै शाक्यले भने,‘उहाँहरुलाई एक छाक खाना खुवाएको फोटो फेसबुकमा राख्ने,दश वटा समाचारको पात्रो बनिदिने,एक छाक फोटोले भोलि उसलाई नमारोस्,सार्वजनिक बाटोमा राखेर सबैले देख्ने गरी १० जनालाई खाना खुवाउन सय जना पत्रकारलाई जम्मा गरेर खुवाउने बाध्यात्मक छैन,कसैले नदेख्ने गरी सुटुक्क खुवाउँदा राम्रो हुन्छ,यसको लागि महानगरपालिकाले सहयोग गर्छ।’

धेरै भीडभाड गरी खाना खुवाउँदा कोरोना संक्रमण फैलिने उनको भनाई छ। उनले आवश्यक परे ३२ वटै वडाले पीडितकै घरमा खाधान्न पुर्‍याउने दाबी गरे। ‘अहिले कोरोना रोकथाम नियन्त्रणका लागि समुदायमा एन्टिजेन परीक्षण थालेका छौ,’उनले भने,‘कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएका छौ, नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौ,काेराेना राेकथाममा निरन्तर लागेका छौँ।’

शाक्यले गत लकडाउनमा पनि खुलामञ्चमा नि:शुल्क खाना खुवाउँदै आएको अभियानलाई रोक लगाएपछि उनको चर्को आलोचना भएको थियो। अहिले हाम्रो टिम नेपाल,१०० ग्रुप लगायत संघसंस्थाले निषेधाज्ञाले समस्यामा भएका मजदुरहरुलाई थापाथली स्थित प्रसूतिगृह अगाडिकाे खाली चौरमा खाना खुवाउँदै आएका छन्।