माधव नेपाललाई कार्यकर्ताको खुलापत्र– कमरेड तपाईंसँग सती जान सकिँदैन

आदरणीय माधव कमरेड,
अभिवादन ।
माधव नेपाल, तपाईंलाई सिपी मैनाली पथ प्यारो लाग्दैछ । पहिला सिपी मैनालीहरुलाई लखेट्नु भएको तपाईंले अहिले आफैँ त्यहि बाटो पछ्याउँदै हुनुहुन्छ । तपाईंलाई स्मरण नै छ होला, पार्टी विभाजन गर्दा सिपी मैनालीले ५० प्रतिशत हाराहारी लिएर पार्टी टुक्रा पारेका थिए, तर त्यसको परिणाम आज मैनालीहरुलाई गुगलबाट खोज्नु पर्ने अवस्था छ । नेपाली समाजमा खोज्नुपर्ने अवस्था छ ।

माओवादीबाट छुट्टिएर गएका मोहन बैद्य, बाबुराम, विप्लबहरुको अवस्था हेर्नुस् , आज कस्तो छ । काङ्ग्रेस भित्र शेर बहादुर देउवा छुट्टिएर जाँदा कुन हालतमा पुगेका थिए, जानकार नै हुनुहुन्छ । तपार्इंसँग त कति नै छ र ?

केही आशा गरिएका नेताहरु तपाईंसँग थिए, तपाईं लगायत । सहि निर्णय लिनुहुन्थ्यो भने आशा थियो । सन्किको भरमा, आग्रह पूर्वाग्रह राखी निर्णय गर्नुभयो, पक्कै इतिहासले सबक दिने नै छ । सौताको रिसले श्रीमानको ओछ्यानमा पिसाब फेरे जस्तो नगर्नु पर्ने थियो, भयो त्यही । देखाइदिन्छु भनेर अगाडि बढ्नु भयो, देखाइदिने होइन, आफैँ देख्नु हुनेछ ।

यसर्थ, तपाईं लगायत कमरेडहरु, तपाईंहरु पार्टी विभाजन गर्ने बाटोमा जानुभयो । भूगोलमा भेटिने त त्यस्तै हो, गुगलमासम्म भेटिनु हुन्छ होला । छुट्टीएर जानेहरु सिपी मैनाली जस्तै हुनेछन् । हिजो सिपी मैनालीले पनि ठूलो समूह लिएर गएका थिए, तर निर्वाचनले वास्तविकता देखाइदियो । हुन त तपाईं निर्वाचन भनेपछि तिरिक्क मुतिहाल्ने मान्छे न हो । तपाईसँग त त्यति पनि छैन, जति त्यो बेला सिपी मैनालीसँग थिए ।

तपाईले सोच्नु भयो होला । म जस्ता हजारौं कार्यकर्ताहरु तपाईं जहाँ, त्यहाँ त्यहाँ पछि लागेर आउनेछन् भनेर । यदि त्यसो हो भने त्यो तपाईंको भ्रम हो । हामीलाई एमाले भन्न सिकायौं, सूर्यमा भोट माग्न र हाल्न सिकायौं । जबजको आदर्श र मूलबाटो सिकायौं ।

एमालेले ‘सुखी नेपाली र समृद्ध नेपालको अभियानमा सरिक गरायो । यी कुराहरुसँग यति लभ परिसकेछ कि हिजो तपाईंको साथमा उभिँदै गर्दा आई लभ यु केपी बा भन्न नसकेको म जस्तै कार्यकर्ताले आज तपाईंकै कारण आई लभ यु केपी बा, भन्न बाध्य भएका छौं ।

तपाईं शेरबहादुर देउवाको पुच्छर हुन तयार हुनुभयो । तर, तपाईंले सिकाएको आदर्शहरुले हामीलाई शेर बहादुरहरुको झोला बोक्ने हिम्मत पनि आउँदैन । तपाई प्रचण्डको सबै कुराको साक्षी बन्न तयार हुनुभयो । तर, हामी प्रचण्डपथतिर सिधा हेर्न पनि सक्दैनौं ।

किनकि मानसपटलमा अझै याद ताजा छ, प्रचण्डका लठेउराहरुले टाउको फुटाएको, हात खुट्टा बाँचेको, कतिको ज्यान लिएको त कतिको सिन्दुर पुच्छिएको । त्यतिमात्र हैन चुनावमा बन्दी बनाएको त कहिल्यै भुल्नै सकिँदैन ।

त्यसैले अलिकति पनि आशा नराख्नुस् म जस्ता कार्यकर्ता अब पनि तपाईंकै पछि लाग्नेछन् भनेर । त्यो आश राख्नुभयो भने त्यो तपाईंको भ्रम हुनेछ । तपाईं र झलनाथ खानलको त यतिकै पनि रिटायर्ड लाईफ हो, राजनीतिबाट अन्त्य हुँदा पनि फरक पर्दैन ।

तर तपाईहरुसँगै हिडेँका ती भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, विरोध खतिवडा र रामकुमारी झाँक्रीहरुको राजनीतिक भविष्य पनि अन्यौल बनाईदिनु भएको छ । पाप लाग्नेछ, तपाईलाई । आँशु झर्नेछ सम्झेर तपाईसँगै पछि लागेका ती प्रिय नेताहरुलाई ।

अझैं केही बिग्रेको छैन । आत्म समीक्षा गरे सबै गल्ति स्विकार गरेर एमालेसँग माफ माग्नुहोस् । केपी ओली घर मूली हुनुहुन्छ । विशाल हृदय छ उनीसँग, पक्कै माफ गर्नुहुनेछ । अन्यथा तपार्इंहरुको राजनीतिक करिअरको अन्त्य पक्कै हुनेछ ।

कसले कुन पद पायो, पाएन त्यो बिषय सामान्य कार्यकर्तालाई कुनै मतलब छैन । महाधिवेशनबाट हारेर पनि हाताहाती अध्यक्ष बन्न खोज्नु तपाइंको भूल थियो । हामी त मात्र नेकपा एमाले र सूर्य चिन्हको मतलब राख्छौं । हिजो तपाईंले १५ बर्ष नेतृत्व गरेकै हो ।

त्यति बेलाको अवस्था र आज केपी ओलीले गर्नु भएको नेतृत्व दाँज्दा पनि हामीलाई तपाईप्रति लाज लाग्छ । केपी शर्मा ओलीले लामो समय पार्टी भित्रै बसेर संघर्ष नगर्नु भएको भए आज न त पार्टी अध्यक्ष बन्न सक्नु हुन्थ्यो न त प्रधानमन्त्री नै बन्न सक्नु हुन्थ्यो । उहाँको संघर्ष र बहुमतलाई तपाईले बिर्सनु भयो ।

पद अस्थायी बिषय हो, पार्टी प्रमुख कुरा हो । यसर्थ एकताको अभियानमा लाग्नु पर्ने तपाईं पार्टी छोड्न तयार भएर जानुभयो । एमालेले तपाईलाई कारबाही गरेर निलम्बन गरेको विषय गौण हो । त्यो बाध्यकारी अवस्थामा पुराउने तपाई स्वयं जिम्मेवार हुनुहुन्छ र त्यो मूख्य कुरा हो । अब एमालेको श्राप तपाईंलाई लाग्नेछ । म जस्तै हजारौं कार्यकताको पाप तपाईंलाई लाग्नेछ । बाँकी तपाईंकै मर्जी, रामराम भन्न सकिन्छ काँध हाल्न सकिँदैन ।

आम कार्यकर्ता पार्टी एकताको पक्षमा हुँदा हुँदै तपाईले गल्ती गर्नुभयो । पार्टी एकताको पक्षमा लाग्नु पर्ने तपार्इं लाखौं कार्यकर्ताको विश्वासलाई तिलाञ्जली दिएर एमालेलाई आगो लगाउने प्रयास गरेर अन्तै लाग्नुभयो । खैर, त्यसले एमालेलाई थोरै असर होला, तर आत्मबल बढ्नेछ । विकार चिजहरु फालेको महसुश गर्दै एमोले निरन्तर अघि बढ्नेछ । म जस्तै लाखौं कार्यकता एकवद्ध भएर एमालेको झण्डामुनि बस्नेछौं ।

तपाईंहरुलाई पद, शक्ति चाहिएको छ, तर कार्यकर्तालाई पार्टी ठूलो र प्रतिपक्षसँग लड्न सक्ने मजबुत शक्ति चाहिएको थियो । तपाईंले त्यसलाई बुझ्न सक्नुभएन, तपाईंको राजनीतिक जीवनको अन्त्यमा म जस्ता हामी अबका दिनमा केवल दर्शक बन्न सक्नेछौं । सारथी र सहयोगी बन्ने छैन । तपाईंको पक्षमा उभिन नसकेकोमा एकरत्ति पनि दुःख छैन, बरु खुशी मिलेको छ ।

नेकपा एमाले जिन्दावाद । सूर्य चिन्ह जिन्दावाद । जनताको बहुदलीय जनवाद–जिन्दावाद ।

उही तपाईंको हिजोको प्रिय कार्यकर्ता

प्रेम खड्का
अनेरास्वविवयु, केन्द्रीय कमिटी सचिवालय सदस्य