संक्रमणमुक्त शिक्षकको अनुभव : पहिलो औषधि त आत्मबल नै रहेछ

पपर्वत । पर्वत सदरमुकाम कुस्मा बजारका शिक्षक गोविन्द पौडेललाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी उपचारको लागि पर्वत अस्पतालमा भर्ना भए। अस्पतालमा तीन दिनको बसाइपछि उनी घरमा नै आइसोलेसनमा बस्ने गरी फर्किए र करिब २० दिनमा सङ्क्रमणमुक्त बने।

सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा जाँदा उनी सुरुमा डराएका थिए। सङ्क्रमणको दोस्रो लहरमा मानवीय हताहत बढ्दै गएको अवस्थामा आफू पनि त्यसैमा पर्न सक्ने शङ्काले उनलाई अब बाँचेर फर्किन पाइएला भन्ने लागेको थिएन। तर छोटो समय अस्पताल बसेर पनि घरमा फर्किएका उनले घरमै बसेर कोरोनालाई जिते। आफूले सङ्क्रमणलाई परास्त गर्नुको पहिलो औषधि भनेको आत्मबल नै भएको पौडेलको भनाई छ।

‘सङ्क्रमणको पुष्टि भएपछि अस्पतालमा जाँदा त अब बाँचेर घर फर्किन पाइएला भन्ने मैले सोचेको थिइन। तर अस्पतालमा पुगेपछि स्वास्थ्यकर्मीहरूको व्यवहारले मेरो मनोबल उच्च बन्यो।’ उनले भने, ‘यो बेलामा पहिलो औषधि भनेको त आत्मबल नै रहेछ।

आत्मबल बढाउनको लागि स्वास्थ्यकर्मीको प्रोत्साहन, परिवारको माया र अरू सबैको शुभेच्छा प्रमुख कुरा रहेछ।’ शरीरमा लक्षण नदेखिएको अवस्थालाई समेत सामान्य रूपमा लिन नहुने शिक्षक पौडेलको सुझाव छ। सङ्क्रमण भइहालेको अवस्थामा हतोत्साहित भएमा त्यो नै सबैभन्दा असर गर्ने कुरा रहने उनको अनुभव छ।

सङ्क्रमणलाई जित्नको लागि स्वास्थ्यकर्मीले दिएका सुझाव मान्नुको विकल्प नरहेको पौडेल बताउँछन्। यो बेलामा शरीरमा निकै कमजोरी महसुस हुने भएकाले शरीरलाई शक्ति दिने, प्रतिरक्षा प्रणालीलाई बलियो पार्ने खानेकुराहरू खानुपर्ने र सन्तुलित आहार सेवन गर्नुपर्ने उनको सुझाव छ।

कुस्माकै अर्का शिक्षक अच्युत पौडेलले पनि सङ्क्रमणलाई जितेको एक दिन मात्रै भएको छ। करिब २० दिन होम आइसोलेसनमा बसेका उनी पनि कोरोनाको औषधिका रूपमा आत्मबललाई नै लिएको उनको भनाई छ। सङ्क्रमण भएको बेलामा आफन्त तथा साथीभाइले सान्त्वना दिँदै गरेको एक कल फोन र सामाजिक सञ्जालमा गर्ने कुराकानीले धेरै हौसला मिल्ने आफ्नो अनुभव रहेको पौडेल सुनाउँछन्।

‘एक्लै आइसोलेसनमा बसेको बेलामा मन निकै आत्तिने रहेछ। समाचाहरु हेर्दा र सुन्दा अनि सामाजिक सञ्जालमा भाइरल हुनका लागि मनपरी तरीकाले निर्माण गरिएका सामग्री पढ्दा मनै धक्क हुन्थ्यो।’ उनले भने, ‘तर कोरोनालाई जितेका, पाको उमेरकाहरु पनि निको भएका तथा चौबिसै घण्टा सङ्क्रमितको सेवामा खटिएका चिकित्सकलाई सम्झिँदा हौसला बढेर आउने रहेछ।’ साथीभाइ तथा आफन्तले स्वास्थ्य अवस्थाका बारेमा बुझ्नका लागि गरेको फोनले आफूलाई नराम्रो रूपमा नहेरिएको भावनाका कारण आत्मबल बढेको उनको अनुभव छ।

त्यस्तै, कोरोना सङ्क्रमणको पहिलो लहरमै सङ्क्रमित बनेका शिक्षक हुन् नवराज शर्मा। सदरमुकाममा बस्दै आएका उनले पनि चिकित्सकको निरन्तरको सेवा र आफन्तजनको मायाका कारण बढेको आत्मविश्वासले नै आफूले कोरोनालाई जितेको बताउँछन्। उनी सङ्क्रमित हुने बेलामा पर्वतमा फाटफुट मात्र सङ्क्रमितहरू भेटिने गरेका थिए। अहिले टोल–टोलमा सङ्क्रमितहरू भेटिने गरेको भए पनि सुरुवाती चरण भएका कारण आफूलाई अर्कै नजरले हेर्ने हुन कि? भन्ने चिन्ता उनमा थियो। तर त्यो नभएर सबैको माया पाएका कारण नै आफू कोरोनाबिरुद्धको लडाइँमा विजयी बनेको शिक्षक शर्मा बताउँछन्।

‘म त सुरुमै सङ्क्रमित भएको मान्छे, समाजले छिः छि, दूर दूर गर्छ की भन्ने पिर लागेको थियो। तर त्यसो भएन। सबैको मायाले मलाई पुरै ऊर्जा दियो।’ शर्मा भन्छन्, ‘यो बेलामा मलाई केही हुन्न भन्ने विश्वास नै मुख्य एन्टीबायोटिक रहेछ। यति हेक्का मनमा रहेको बेलामा साथीभाइ र आफन्तको हौसलाले काम गर्ने रहेछ।’

शिक्षकहरू दैनिक सयौँ विद्यार्थीको भिडमा जाने भएका कारण शिक्षक र विद्यार्थी दुवै उच्च खतरामा रहँदा पनि सरकारले शिक्षकलाई खोप दिन नसक्नु दुःखद पक्ष रहेको शिक्षकहरू बताउँछन्। नेपाल शिक्षक सङ्घ पर्वतका उपाध्यक्ष गोविन्दप्रसाद पोखरेलले सरकारले शिक्षकहरूलाई खोपमा बेवास्ता गर्दाको नतिजा नराम्रो हुने उनको भनाई छ।

‘डक्टर र सुरक्षाकर्मी जस्तै शिक्षकहरू पनि फ्रन्टलाइनर नै हुन्। कोरोना कहरकै बेलामा विद्यालयहरू खुलेको थिए। विद्यालयमा सयौँको सङ्ख्यामा रहेका विद्यार्थी र शिक्षकबीच हेलमेल भयो, हुन्छ।

तर राज्यले त्यही भिडभाड रहेका शिक्षकहरूलाई खोप दिन सकेन।’ उनले भने, ‘अझै पनि खोप नदिएसम्म विद्यालयमा फर्किन सक्ने अवस्था छैन। एउटा शिक्षक मात्र सङ्क्रमित भयो भने एकै दिनमा सयौँ विद्यार्थीमार्फत ज्यामितीय आकारमा समुदायमा सङ्क्रमण जान्छ भन्ने कुरा किन नबुझेको?’