कँडेलको धनुषा प्रवेश, जिल्लामा बाघ आएको जस्तो

जनकपुरधाम। धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेर कार्यसम्पादनमा अमूल्य अनुभव आर्जन गरेका सरकारका सहसचिव प्रदिपराज कँडेल धनुषा जिल्ला पस्ने बित्तिकै सुधारवादी अभियान सुरु गरिसकेका छन् । आफ्नो टाउकामा आफै आगो लगाउन आँट गर्ने समाज सुधारक कँडेल सुधार आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यता राख्छन् । धनुषामा प्रमुख जिल्ला अधिकारी बनेर पसेको केही दिनमै जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिने गरी सुधारका कामहरु थालिसकेका छन् ।

उनी धनुषा पस्नुपूर्व मालपोत, नापी, भन्सार, श्रम तथा यातायात सबैजसो कार्यालय जस्तै कमाउ कार्यालयका रुपमा परिचित थिए, निगरानी गर्ने धनुषाको जिल्ला प्रशासन कार्यालय पनि मौन हुन्थ्यो । बिचौलियाको रजगज थियो, जिल्ला प्रशासन कार्यालयमा पनि । कर्मचारीले लेनदेनको सेटिंग गरेर मात्रै काम गर्छन् भनेर कानेखुशी हुन्थ्यो । कार्यालय अस्तब्यस्त, गुट्खा र पानको छिटा चारैतिर भित्तामा, कार्यालय परिसरमा फोहरको डंगुर ।

अहिले कार्यालय परिसर चिटिक्क छ । सेवाग्राही बस्ने सुविधा छ । निःशुल्क खानेपानी । चाहेमा सेवाग्राही आफैँले चिया बनाएर खान सक्छन् । फ्रि वाईफाईको सुविधा, काम लिएर जाउँजाउँ जस्तो । समयमै काम तमाम । टेन्सन फ्रि । असहाय र अपाङ्गका लागि अपाङ्गमैत्री कोठाको प्रबन्ध । प्रमुख जिल्ला अधिकारी कँडेलको सुधारवादी चिन्तन र कामकार्यलाई जनकपुरवासीले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । आजभोलि जनकपुरका चिया पसलमा गफ चल्नेगर्छ, सिडियो हुनु त प्रदिपराज कँडेलजस्तो पो !

बिचौलियाले भरिभराउ हुने जिल्ला प्रशासन कार्यालय परिसर अब सेवाग्राहीमैत्री बन्दै गएको आभास हुन्छ  । महिला-आमा सेवाग्राहीका लागि स्तनपान कक्षको व्यवस्था छ । अफिसका लागि चाहिने सामान नागरिक सहायता कक्षमै राखिएको छ । १० रूपैयाँ मूल्यको टिकट १५ रुपैयाँमा किन्नु पर्ने बाध्यता टरेको छ । सेवाग्राहीलाई माइकबाट बोलाउने गर्नुका साथै विद्युतीय टोकन पनि चलिरहेको हुन्छ । सीसीटिभी क्यामरामार्फत् सबैमाथि निगरानी गरिरहेका हुन्छन्, प्रमुख जिल्ला अधिकारी कँडेल ।

सेवाग्राहीलाई स्थानीय मैथिली भाषामा स्वागत गर्दै टोकन लिएर प्रतीक्षालयमा बस्न आग्रह गरिन्छ । कार्यालय डिजिटलमय बनेसँगै सेवाग्राहीले अतिरिक्त रकम बुझाउनु पर्ने परिपाटीको अन्त्य भएको छ । प्रजिअ कँडेलले नक्कली नागरिकता बनाउने बिचौलिया र जिल्ला प्रशासनका कर्मचारीगरी ८ जनामाथि कारवाहीसहित वैज्ञानिक तथा सेवामुखी प्रणाली बसाएका हुन् ।

पाँचथरमा रहँदा निरक्षर उन्मुलनको अभियानमा सहयोग पुग्ने गरी उनले ‘इच वान, टिच वान’ अर्थात ‘हरेक एकजनाले अर्को एक जना’लाई सिकाउने भन्ने अत्यन्तै लोकप्रिय जनमुखी अभियान नै चलाए । परिणामतः, कँडेलकै शब्दमा, धेरै निरक्षरहरु मोबाइलमा फोन गर्न सक्ने, नम्बर हेर्न सक्ने र नेपाली भाषा सामान्य पढ्न सक्नेसम्म भएका थिए ।

त्यस्तै कँडेलले सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापनमा चुस्त अनि दुरुस्त बनाउने अभियान पनि सुरु गरेका थिए । सहसचिव कँडेलले पाँचथर र गुल्मीमा ‘गरिबका लागि कपडा बैंक’ भन्ने अभियान नै चलाए । पाँचथर र गुल्मीमा त्यो अभियान जारी छ ।

गुल्मीमा रहँदा कँडेलले सेवाग्राहीलाई निःशुल्क चियाकफी र पानी पिउने व्यवस्था गरेपछि सामाजिक सञ्जालबाट सिडिओले सस्तो लोकप्रियताका लागि राज्यको ढुकुटी सक्यो भनेर टिकाटिप्पणी सुरु भयो । तर उनले यो सेवामा स्थानीय राजनीतिक दलका नेता, समाजसेवी लगायतले सहयोगको पूरै खर्च विवरण हरेक पटक सार्वजनिक गरिरहे ।

गुल्मीको बडागाउँमा आगलागी भएर पूरै गाउँ खरानी भयो । त्यसको चौथो दिन उनले दलका प्रतिनिधि, सेना, प्रहरी, नागरिक समाज सबै मिलेर ५४ वटा टहरा बनाए । फेरि उनलाई सस्तो लोकप्रियताको आरोप लाग्यो । पाँचथरमा उनले ‘ध्वनी बडापत्र’ को अवधारणा ल्याए । सेवाग्राहीले सुनेरै सम्बन्धित कार्यालयबाट प्राप्त हुने सेवासुविधाबारे जानकारी पाए । पाँचथरमा रहँदा उनी सडक बिस्तारका लागि आफै घन बोकेर ढुँगा फुटाउँदै हिँडे ।

एकाउन्टिविलिटी ल्याब नामक अन्तर्राष्ट्रिय संस्थाबाट कँडेलले सन् २०१५ को ‘इन्टिग्रिटी आइडल अवार्ड’ पाएका थिए । उनले गाउँगाउँमा सिंहदरवार अभियानमा उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको सम्मान पाएका थिए । २०४६ सालमा निजामती सेवामा जागीर खान हिंडेका कँडेल कर्मचारीले सेवाग्राहीलाई दिएको दुःख देखेर जनसेवाका यस्ता उपायहरु फुरेको बताउँछन् ।