महिनावारीमा मन्त्रीलाई सुख, सांसदलाई दुःख

काठमाडौं। पछिल्ला दिनहरुमा छात्राहरुले महिनावारीका कारण पढाई नै छोड्नुपर्ने अवस्था आएपछि खुलेर बोल्न थालेका छन्। खुलेर बोल्ने मात्र होईन विद्यालय तथा क्याम्पसहरुमा छुट्टै र सफा शौचालय निर्माणको अभियान नै चलाएका छन् । त्यसो त महिनावारीका विषयमा केही समय अघिसम्म नबोल्ने नेपाली समाज अहिले विस्तारै महिनावारी समस्याका विषयमा खुल्न र बोल्न थालेको छ।

भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्यमाकुमारी अर्याल यो समस्यालाई नेपाली महिलाहरुको आम समस्या भएको बताउछिन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएको बेला– राष्ट्रपतिसँग छात्रा कार्यक्रममार्फत उमेर पुगेका छात्राहरुलाई सेनेटरी प्याड निशुल्क वितरण गर्ने योजना बनाएकी थिईन, मन्त्री अर्यालले । उनी भन्छिन्– ‘यो समस्या बाहिर कम देखिने तर भित्रभित्रै डरलाग्दो समस्या हो । यसबेला सरसफाईमा ध्यान नदिँदा क्यान्सर लगायतका रोगहरुको संक्रमण बढ्न जान्छ भने जीवन नै संकटमा पारिदिन्छ ।’

नेकपा सांसद रामकुमारी झाँक्री महिनावारीका बारेमा आफूले खुलेर बोल्दै आएको बताउछिन् । अझै पनि शिक्षित महिलाले समेत पाप र धर्म, छुत र अछुतको रुपमा चित्रित गरेको अनुभव संगालेकी सांसद झाँक्री महिनावारी भएका बेला अरु महिलासरह आफूलाई पनि गाह्रो भएको बताउछिन् । तर यसलाई सांसद झाँक्रीले व्यवस्थापन गर्दै आएकी छन्।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल महिनावारीका बेला राम्रो शौचालय नहुँदा संसद र पार्टी काममा बेलाबखत असहज महशुस भएको बताउछिन् । सांसद भुषाल यो समस्यालाई समाधान गर्न जनचेतना अभिवृद्धि गर्ने र महिलाहरुका लागि छुट्टै र सफा शौचालयको व्यवस्था गर्नुपर्ने धारणा राख्छिन्।

खानेपानी तथा सरसफाई मन्त्री विना मगर महिनावारीका बेला महिलाहरुमाथि हुने पीडा कम गर्न स्वस्थ्य र सरसफाईमा ध्यान दिनुपर्ने बताउँछिन्।

आम महिलाहरु महिनावारीका पीडाबाट अछुत छैनन् । गाउँघरमा यो समस्या जिउँका तिउँ छ । छुट्टै र सफा शौचालयको अभावमा कतिपय छात्राहरु महिनावारीका समयमा विद्यालय नजाने गरेको तथ्यहरु पनि बाहिर आएका छन् । महिनावारीका कराण हुने शारीरिक र मानसिक तनावले कतिपय छात्राहरु बीचमै पढाई छोड्नुपर्ने बाध्यता पनि उत्पन्न भएका उदाहरण छन्।

गाउँघरको त के कुरा शहर बजारमा पनि कतिपय ठाउँमा महिलाका निम्ति छुट्टै शौचालयको व्यवस्था छैन भने सफाको त कुरै छोडौँ । मुलुकको विधायिकाका रुपमा रहेको संसद र केन्द्रीय सचिवालय रहेको सिंहदरबारमा समेत सफा शौचालयको व्यवस्था नहुँदा महिला सांसदहरुले असहजता महशुस गर्दै आएका छन् । कहिले काहीँ त दिनभर शौचालयमा पानीसमेत नहुने र संसद् सचिवालयमा नै शौचालय एकदम अव्यवस्थित रहेको महिला सांसदरुहको गुनासो रहँदै आएको छ । त्यस्तै महिला सांसदहरुले त्यहाँ ट्वाइलेट पेपरको व्यवस्था पनि नहुँदा थप समस्या व्यहोर्नु पर्ने वाध्यता छ । त्यस्तै महिनावारीबाट शारीरिक र मानसिक तनाव भएका वेला आराम गर्ने आराम कक्षको पनि व्यवस्था छैन।

महिला मन्त्रीहरुलाई आरामदायी कक्ष र सफा शौचालयका व्यवस्था हुँदा महिनावारी भएका वेला पनि उनीहरुलाई सहज छ। तर महिला सांसदहरुलाई भने न संसद भवनमा न त सिंहदरबारमा भनेजस्तो शौचालय छ । त्यसैले महिला सांसदहरुले महिनावारी हुँदा पीडासँगै दुःख पनि सहनुपर्ने वाध्यता छ।