कालीगण्डकी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले जारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ।

पश्चिम बंगाल खाडीमा विकसित भएको जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए।

उनका अनुसार जेठ १३ गते बिहीबार देखि जेठ १५ गते शनिवारसम्म पर्वतमा भारी वर्षाका सम्भावना रहेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सूचना पाएपछि नागरिकलाई सचेत रहन भनिएको हो।

प्रशासनले घर बस्ती नजिक बाढी, पहिरो, डुबान आदिको जोखिम भएमा सुरक्षाकर्मी एवं स्थानीय तहसँग समन्वय गरेर सुरक्षित स्थानमा सर्न, नदी तथा खोलामा माछा मार्ने लगायतका प्रयोजनको लागि नजान, कालीगण्डकी तथा मोदी खोलाको आसपासमा नजान, खोला किनार एवं पहिरोको जोखिम रहेको क्षेत्र आसपासमा बसोबास गर्दै आएका बासिन्दाहरू सुरक्षित स्थानमा रहन, आफ्नो ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला विपद् व्यवस्थापन समितिमा तुरुन्तै जानकारी गराउन भनेको छ।

२०७२ सालको भूकम्पका कारण हल्लिएको जमिनका कारण पर्वतमा पनि सामान्य वर्षा हुँदा साथ घर भत्किने, पहिरो जाने तथा रुख ढल्नेलगायत घटना हुने गरेका छन्।

बाढी पहिरोको जोखिममा हिसाबले पनि पर्वत जिल्ला जोखिममा छ। यस्तै, कालीगण्डकी नदी किनारमा बस्ती रहेका कारण पनि पर्वतसहित विभिन्न जिल्लाका बासिन्दाहरू वर्षा याममा जोखिममा पर्ने गरेका छन्।