ओली मात्र होइन नेपालका सबै दलका सबै नेतामा पदको मात्र लोभ छ: शुशीला कार्की

पूर्व प्रधानन्यायधीश शुशीला कार्कीले नेपालका सबै दलका सबै नेतामा पदको लोभ मात्र रहेको बताएकी छिन्। कन्स्टिच्युसनल वाच ग्रुपद्वारा आयोजित ‘भर्चुअल’ छलफलमा बोल्दै पूर्व प्रधानन्यायधीश कार्कीले पदमा टाँसिरहु भन्ने मानसिकता हर नेतामा रहेको बताएकी हुन्।

कार्कीले भनिन्, ‘नेपालमा समष्टिगत रूपमा हेर्दा एउटा मात्र दलका नेता मात्र होइन कि हरेकजसो दलका नेताहरूमा सधैँभरि पदकै लोभ देखिन्छ। तिनीहरू सबै पदमै टाँसिरहनुपर्छ भन्‍ने मानसिकताले ग्रस्त देखिन्छन्।’

वर्तमान राजनीतिक अस्थिरताबारे पनि कार्कीले खरो धारणा व्यक्त गरिन। उनले संसद पुनस्थापना भएपछि पनि फेरी प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न नै अघि बढ्ने थाहा पाउँदा पाउँदै पनि विपक्षी दलहरुले केहि गर्न नसक्नु लज्जास्पद भएको बताइन्।

जब प्रतिनिधि सभा पुनःस्थापित भयो, त्यो भइसकेपछि हालका प्रधानमन्त्रीले यसै गर्नुुहुन्छ भन्‍ने अरु दलहरूलाई थाहा थियो नै होला। प्रधानमन्त्री र उनका क्रियाकलाप बुझ्दा-बुझ्दै र बढी चिन्दा-चिन्दै पनि बाटो बनाउने काम गर्नुभएन।

कार्कीले भनिन्, ‘हामीले बाहिर रहेर हेर्दा के देखिन्छ भने एकले अर्कालाई फकाएको छ, उसले उसलाई फकाएको छ। तिनीहरू फकिएको पनि देखिएकै छ। तर, आफ्नो पदीय लाभका निम्ति चाहिँ उहाँहरू फकिने? तर राष्ट्रको उत्थानका विषयमा उहाँहरूले ‘त्याग’ नै देखाउनुभएन, कहिल्यै पनि।’