विघटनको विपक्षमा चार पूर्व प्रधानन्यायाधीशले फेरि निकाले विज्ञप्ति : संविधान नै समाप्त हुने खतरा बढ्यो !

पूर्व प्रधानन्यायाधीशहरूले प्रतिनिधि सभा पुन:स्थापना गर्ने अदालतको फैसलाको मर्म र भावनालाई सम्मान नगरी पुन: विघटन गर्नुले गम्भीर स्थिति खडा गरेको उल्लेख गरेका छन् ।

पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रवार एक विज्ञप्ति जारी गरी कसैको (प्रधानमन्त्री केपी शर्मा ओलीको) स्वार्थका लागि सर्वोच्चको फैसलाले दिएको परिणामलाई निरर्थक तुल्याइएको बताएका छन् ।

‘​​सम्मानित सर्वोच्च अदालतबाट गत २०७७ फागुन ११ गतेको फैसलाबाट पुन:स्थापित भएको प्रतिनिधि सभालाई पुनः विघटन गरिएबाट सर्वोच्च अदालतको फैसलाको मर्म र भावनाको सम्मान नभएको, नगरिएको र फैसलाले दिएको परिणाम कसैको स्वार्थको खातिर निरर्थक तुल्याएको छ,’ पूर्व प्रधानन्यायाधीशहरूको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट कानूनको सर्वोच्चताको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको छ । लोकतन्त्रको लागि यस्तो स्थिति खतरनाक हुनसक्छ ।’

यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लोपटक प्रतिनिधि सभा विघटन गर्दा पनि यी ४ पूर्व प्रधानन्यायाधीशले विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका थिए ।

त्यतिबेला पूर्व प्रधानन्यायाधीशहरूको विज्ञप्तिको निकै चर्चा भएको थियो ।

हेर्नुहोस् विज्ञप्ति :