अन्तर्राष्ट्रिय मिडियाका पत्रकारमार्फत ओलीको अपिल: खोप उपलब्ध गराएर सहयोग गर्नुस् !

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ संक्रमणविरुद्धको खोप उपलब्ध गराउने विषयमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँगको अन्तरक्रियामा उनले नेपाली नागरिक सबैलाई पुग्नेगरी कोभिड- १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरेका हुन् ।

अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्ट्रहरूलाई आग्रह गरे ।

झण्डै २ करोड नागरिकलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरे ।

उनले कोभिड नियन्त्रण गर्ने नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैंकका क्षेत्रीय निर्देशकलगायत विभिन्न दूतावासहरूको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद समेत दिए ।

भारतपछि दक्षिण एशियामा खोप शुरू गर्ने दोस्रो मुलुक नेपाल भएको दाबी गर्दै उनले छिमेकीहरूको सहयोगका कारण खोप शुरू गरेपनि पछि विभिन्न कारणले खोप उत्पादक कम्पनी र देशहरूले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएको बताए ।

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिएकोमा असन्तुष्टि जनाउँदै उनले सरकारका विरोधीहरूले सरकारका अन्य कतिपय कुरालाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने गरेको गुनासो गरे ।

उनले विपक्षीहरूले कोभिड- १९ को दोस्रो लहरलाई राजनीतिक अभिष्ट पूरा गर्ने माध्यम बनाएको दाबी पनि गरे ।