२३ करोड लागतमा बन्दै गरेको पुल बाढीले भत्कायो !

लगातार वर्षापछि सुनकोसी नदीमा आएको बाढीले सिन्धुली–ओखलढुंगा जोड्न नवलपुरघाटमा निर्माणाधीन पक्की पुल भत्काएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवपुरघाटबाट ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापु जोड्ने पुल भत्किएको हो ।

भर्खरै सेटरिङ ढलान गरिएको ४० मिटर संरचना पूरै बग्दा ६ करोड बराबरको क्षति भएको निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनले जनाएको छ ।

२ सय १० मिटर लम्बाइ रहेको पुलको लागत २३ करोड छ । फिक्कल गाउँपालिका–२ का वडाध्यक्ष शंकर भण्डारी भने सुनकोसीमा बनाइएको पुल साधारण बाढीले पनि बगाउनुले निर्माणको गुणस्तरमा प्रश्नचिह्न उठेको बताए ।

वर्षामा सुनकोसी सधैं यसरी नै उर्लन गरेको भन्दै उनले निर्माण कम्पनीले प्राकृतिक क्षति देखाई भुक्तानी लिन खोजेको आरोप लगाए ।