‘भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ’ – मुख्यमन्त्री पोखरेल

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताएका छन्।

उनले घटनामा सन्दर्भमा ध्यानाकर्षण भएको र छानबिन गरी दोषीमाथि कारबाही हुने बताएका हुन्। बिहीबार राति अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो। कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृ’त्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए।

त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।
ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो। कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए। कोभिड आईसीयूमा खटिएकी नर्स यमकुमारी थापाले ती बिरामी अस्पतालमा भर्ना भएदेखि नै उनीहका आफ्न्तले मानसिक तनाव दिने गरेको बताइन्।

यो घटनाको चौतर्फी निन्दा भएको छ। घटनाको विरोधमा स्वास्थयकर्मीहरू आन्दोलनमा उत्रिएका छन् भने घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।