बहराइनी राजकुमारद्वारा कोरोनाका कारण समस्यामा परेका नेपाली बालबालिकालाई सहयोग

काठमाडौं। बहराइनका राजकुमार शेख मोहम्मद हमद मोहम्मद अल–खलिफाले कोभिड – १९ का कारण समस्यामा रहेका प्रयास नेपाल होमका बच्चाहरूलाई सहयोग गरेका छन्।

राजकुमार खालिफाले सेभेन समिट नेपालको सहकार्यमा अल्फट होटलसँग समन्वय गरेर प्रयास नेपालका बच्चाहरूलाई सहयोग गरेको एलोफ्ट होटेलका महाप्रबन्धक विक्रम सिंहले जानकारी दिए। उनीहरूलाई चामल, दाल, कपि, कलम, सेनिटाइजर, साबुन, मास्क लगाएतका सामाग्रीहरु प्रदान गरेर सहयोग गरीएको हो। यसबाट प्रयास होममा रहेका ३० जना बालबालिकाहरु लाभान्वित भएका छन्।

सहयोग पछि राजकुमार खालिफाले कठिन घडिमा सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरेका थिए। अलोफ्ट काठमाडौं ठमेलले प्रयास नेपाल चिल्ड्रेन होमलाइ स्थापनाकालदेखिनै नै सहयोग गर्दै आएको छ। सगरमाथा आरोहणका लागि नेपाल आएका राजकुमार खालिफा सगरमाथाको सफल आरोहण पछि हाल काठमाडौंमा छन् ।

त्यो भन्दा पहिले बहराइनबाट कसैले पनि सगरमाथा आरोहण नगरेकोमा उनले बहराइनबाट पहिलो पटक सगरमाथा चढ्ने कीर्तिमान समेत कायम गरेका छन्। यस्तै राजकुमार खलिफा र उनको टीमले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर मापन भए पश्चात आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टोलीको कीर्तिमान पनि कायम गरेका छन्।