चिकित्सक र नर्सहरुमाथि हमला गर्नेलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि सांघातिक हमला गर्नेमाथि कानुनी कारबाहीको माग गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डले डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाप्रति खेद प्रकट गरेका छन्। ‘नेपालगंजस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ ।’

प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारबाही गरियोस् भनि माग पनि गर्दछ।’ बिहीबार राती भेरी अस्पतालकामा उपचाररत एक बिरामीको मृ’त्यु भएपछि आफन्तले कोभिड वार्डमा प्रवेश गरेर चिकित्सक र नर्समाथि हातपात गरेका थिए।