कोरोना खोपको दौडः चीन पहिलो, भारत तेस्रो, नेपाल ५१ औं स्थानमा

कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यमा विकशित देशहरुले तीव्र प्रगति गरिरहेका छन् । गरिव मुलुकहरु केही लाख डोज खोपका लागि तडपिइरहेका बेला खोप विकाश र उत्पादनमा पकड भएका मुलुकहरुले आफ्ना नागरिकको ठूलो हिस्सालाई खोप लगाइसकेका छन् ।

बुधबारसम्म विश्वभर झण्डै १ अर्ब ७० करोड डोज खोप लगाइएकोमा त्यसको ६० प्रतिशत खपत मुख्य तीन मुलुकहरु चीन, अमेरिका र भारतले गरेका छन् ।

खोप कार्यको तथ्याङ्क राखिरहेको आवर वर्ल्ड इन डाटाका अनुसार यो दौडमा चीन सबैभन्दा अगाडि छ । बुधबारसम्म चीनले झण्डै ५६ करोड डोज खोप लगाइसकेको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स अनलाइनका अनुसार चीनले पछिल्ला केही दिनयता हरेक दिन २ करोड डोज खोप लगाइरहेको छ ।

दोस्रो नम्बरमा रहेको अमेरिकाले झण्डै २८ करोड डोज खोप लगाइसकेको छ भने भारतले २० करोड डोज खोप लगाएर तेस्रो स्थानमा पुगेको छ ।

अहिलेसम्म २७ लाख डोज खोप लगाइसकेको नेपाल यो सूचीको ५१ औं स्थानमा रहेको छ । भारतले सहयोग दिएको १० लाख डोज, सेरमसँग किनेको १० लाख डोज र चीनले अनुदान दिएको ८ लाख डोज खोप नेपाल आएको छ । चीनले थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ ।

कुन देशले कति खोप लगाए ? हेर्नुहोस् तथ्याङ्क