मोटरसाइकल चालकले ध्यान दिएर पढ्नुहोस्, जान्नुपर्ने छ यी कुरा

काठमाडौ। मोटरसाइकलरस्कुटर चलाउँदै हुनुहुन्छ भने गल्ती नै नगर्दा पनि ट्राफिक प्रहरीले रोक्न सक्छन्। दुई कारणले, सुरक्षा जाँच वा सुरक्षा कक्षा।

महानगरीय ट्राफिक महाशाखाले केही महिनादेखि व्यस्त सडकमा गुडिरहेका दुईपाङ्ग्रे रोकेर ’सुरक्षा कक्षा’ दिइरहेको छ। दुईपाङ्ग्रे सवारी सबभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकबाट देखिएपछि महाशाखाले यस्तो अभियान सुरू गरेको हो।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७५र७६ को वैशाखसम्म सात हजार दुर्घटना भए, दुई सय ११ जनाले ज्यान गुमाए। यसमा २ हजार ३ सयभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे परेका छन्। मृत्यु हुनेमा ४५ प्रतिशतभन्दा धेरै दुईपाङ्ग्रे सवार नै छन्।
यही सन्दर्भमा हामीले पूर्व ट्राफिक प्रहरी तथा हालै ’ट्राफिक भोलेन्टियर’ नियुक्त सीताराम हाछेथूसँग दुईपाङ्ग्रे सवारीको सुरक्षाबारे कुराकानी गर्यौं।

उनले तथ्यांकबाट कुराकानी थाले।
तीस वर्षअघि देशभर ३४ हजार दुईपाङ्ग्रे थिए। आधाभन्दा बढी बागमतीमै कुद्थे। अहिले २५ लाख दुईपाङ्ग्रे छन्। तीमध्ये नौ लाख बागमतीमै छन्। यहाँ दुईपाङ्ग्रे र अरू गरी झन्डै एघार लाख सवारी चल्छन्।

काठमाडौं उपत्यकामा दिनहुँ एउटा न एउटा दुर्घटना हुने गरेको छ। अधिकांशमा दुईपाङ्ग्रे ठूला गाडीसँग ठोक्किएका छन्। टिपर(ट्यांकरसँग, कार, बस वा ट्रकसँग। कुनै बेला आपसमै।

महिनामा दस जनासम्मले दुर्घटनामा ज्यान गुमाएका छन्। सामान्य र गम्भीर घाइते त सयौं छन्।
भयावह बन्दै गएको दुर्घटनामा साठी प्रतिशत दुईपाङ्ग्रेकै लापरबाही देखिने हाछेथूको दाबी छ।

दुईपाङ्ग्रे त्यसै पनि जोखिमपूर्ण सवारी। चालक र यात्रुलाई चोटपटक लाग्ने र मृत्यु हुने सम्भावना अन्य सवारीको तुलनामा धेरै हुन्छ। यसमा चालकको लापरबाहीले जोखिम झन् बढाइदिन्छ।

दुई गाडीको बीचमा ’क्रस’ गर्दै ओभरटेक गर्दा र घुम्ती वा मोडमा ओभरटेक गर्दा धेरै दुर्घटना भएका छन्। सिधा सडकमा पनि सोझै सवारीको अगाडि तेर्सिन जाने चलन छ। यसले पछाडिबाट ठक्कर खाने सम्भावना बढाउँछ।

’ओभरटेक गर्दा अगाडि(पछाडि हेरेर सिधा लेनमा दायाँबाट मात्र गरिनुपर्छ। कम्तिमा पन्ध्र मिटर दूरी राखेर मात्र कुनै पनि सवारीको अगाडि पर्नुपर्छ, तर यसको पालना हुँदैन,’ उनले भने, ’सिधै अगाडि तेर्सिंदा ज्यान जोखिममा पर्छ।’

तीव्र गतिमा चलाउने, गलत लेनमा स्वाट्ट घुस्ने, अरू सवारीसँग टाँसिन जाने, कुनाकाप्चामा छिर्ने पनि दुर्घटनाका कारण हुन्।

हाछेथूको अनुभवमा दुईपाङ्ग्रेहरू अक्सर सिधा गुड्दैनन्। घरि यता घरि उता, नागबेली। सडक लेनको मतलबै छैन। सानो कुना देख्यो कि घुसिहाल्यो। यही प्रवृत्तिले जोखिम बढाउने उनी बताउँछन्।

मादक पदार्थ सेवन गरेर हुँइक्याउनेहरू पनि दुर्घटना पीडित भएका छन्। ट्राफिक प्रहरीका आँखा छलेर तीन जना बस्ने, केटाकेटी भनेर पाँच जनासम्म अटाउने र ’मालवाहक’ गाडीझैं गह्रौं सामान बोक्ने प्रवृत्तिले पनि दुईपाङ्ग्रे दुर्घटनामा परेका छन्।

पछिल्लो समय मोबाइल र इयरफोन दुर्घटनाका थप कारक बनेको हाछेथूको अनुभव छ।

’सवारी हाँक्दा फोनमा बोल्ने, गीत सुनेर हिँड्ने प्रवृत्ति बढ्दो छ,’ उनले भने, ’यसले सडकमा ध्यान हुँदैन, अरू गाडीको आवाज र पछाडिबाट हर्न बजाएको चाल पाइँदैन।’

दुर्घटना भनेको नियम उल्लंघन र लापरबाहीका साथै मानवीय त्रुटिको नतिजा हो। अरूलाई जोगाउन खोज्दा पनि दुर्घटना भएका उदाहरण छन्। तै गति कम गरी सडकमै ध्यान केन्द्रित गरेर चलाउने हो भने धेरै हदसम्म दुर्घटना कम हुने उनको भनाइ छ।

हामीकहाँ त्यसै पनि सडकको अवस्था गतिलो छैन। खाल्डाखुल्डीको भरमार छ। यो सरकारी निकायको कमजोरी भए पनि ज्यान जोगाउन आफैं चनाखो हुनुपर्ने उनी बताउँछन्।

चिप्लो र बलौटे बाटोमा झ्याप्प ब्रेक हान्दा वा मोड्दा धेरै दुर्घटना भएका छन्। खाल्डाबाट जोगिन दायाँबायाँ सुत्त घुमाउन नहुने हाछेथू सुझाउँछन्। बरू सानोतिनो खाल्डो देखे गति कम गरेर खाल्डोबाटै जानुपर्ने उनको भनाइ छ।

’चालक र यात्रुले सडकको अवस्थामा ध्यान दिएको पाइँदैन। पछाडिको यात्रु त आफ्नै तालमा कहाँ हराइरहेको हुन्छ। जोगिन सकिने अवस्थामा पनि ऊ मानसिक रूपले तयार हुँदैन,’ उनले भने, ’सवारी लड्दा झ्याम्म खुट्टा टेक्न सक्यो भने त बचियो नि!’

दुईपाङ्ग्रेको ’मेसिनरी’ अर्को समस्या हो। काम नगर्ने लाइट, कमजोर ब्रेक, खिइएका वा हावा नभएका टायर र अरू समस्या भएका दुईपाङ्ग्रे नचलाउनु नै बेस।

आफ्नो उचाइ र शारीरिक बनावटअनुसार सहज सवारी चलाउँदा पनि नियन्त्रण गर्न सहज हुने उनी बताउँछन्।

अब बर्खा याम सुरू हुन लाग्यो। पानी पर्दा जुन खालको ’डबल रेनकोट’ हामी लगाउँछौं, त्यो पनि सुरक्षित छैन। एक त यस्तो रेनकोट मोटरसाइकल वा स्कुटरको ह्यान्डलमा अड्काएर राखिन्छ, अर्का्तिर दुवै यात्रुले गम्लङ्ग ओढ्दा अपर्झट केही भइहाले सवारीसँगै पछारिनुको विकल्प छैन। सकेसम्म चम्किलो रङको बेग्ला(बेग्लै रेनकोट सुरक्षित मानिन्छ।

’आफ्नो रोजाइको लुगा लगाउने छुट सबैलाई छ। तर, ज्यानभन्दा ठूलो त केही होइन होला। सकेसम्म हाफप्यान्ट र छोटा लुगा लगाएर दुईपाङ्ग्रे नचलाउनु र नचढ्नु राम्रो। अलिकति लड्दा पनि खुला भागमा चोट धेरै लाग्छ। पातला चप्पल वा हिल पनि समस्या हुन्छन्। पातलो ज्याकेट, पूरा प्यान्ट, पञ्जा र जुत्ता लगाउँदा सडकमा पछारिए पनि चोट कम हुन्छ,’ हाछेथूले भने।

तन्नेरी चालकका हकमा अभिभावक, शिक्षक(शिक्षिका वा आफन्तले ’विस्तारै चलाउन’ सुझाउनुपर्ने उनको भनाइ छ। ट्राफिक शिक्षा स्कुल पाठ्यक्रममै समावेश गर्नुका साथै हरेक स्कुलमा कम्तिमा महिनाको एकपटक ट्राफिक सुरक्षा कक्षा सञ्चालन गर्न उनी सुझाउँछन्।

’आजका स्कुले केटाकेटी नै भोलिका चालक हुन्। उनीहरूले जानेका कुरा आमाबुबा(दाइदिदीसँग भन्न सक्छन्। भोलि आफैं चलाउँदा सतर्क हुन्छन्,’ उनले भने, ’यो शिक्षा घरदेखि स्कुलसम्म जरूरी छ।’

सडक अवस्था सुधार, नियम कडाइ र दुर्घटनाका दोषी पहिचान गर्ने मामिलामा नियामक निकाय कमजोर रहेको पनि उनले औंल्याए।

’दुर्घटनामा ’पीडित’ पक्षले नै सहानुभूति पाउँछ। पीडित भनेको सानो सवारी हो। वास्तविक दोषी खोज्ने चलन कम छ,’ उनले भने, ’यसले साना सवारीलाई लापरबाह बनाएको छ। क्षतिपूर्ति पाइन्छ भन्ने मानसिकता देखिन्छ। नियामक निकायले सहानुभूतिमा नलागेर दोषी पत्ता लगाउनुपर्छ।’

सरकारी पक्षको अर्को कमजोरी, चालक लाइसेन्सको लिखित परीक्षा र ट्रायल प्रक्रिया हो।

बीसमध्ये दस प्रश्नका सही जवाफ दिँदा लिखित पास हुने नियम छ। त्यसमा पनि चार वैकल्पिक उत्तर हुन्छन्। अन्दाजमा चिनो लाए पनि पास भइन्छ। ट्रायल पनि निश्चित फ्रेम र स्थानमा एक्लै दिइन्छ। यस्तो सिकाइमा भिडभाडको व्यवहारिक अनुभव हुन्न।

‘नयाँ चालकलाई त ट्राफिक संकेतको अर्थसमेत थाहा नभएको हामीले पाएका छौं। सुनसान ठाउँमा सिक्छन्। खुला ठाउँमा आठ घुमाएर, उकालो चढाएकाहरू व्यस्त सडकमा त्यसै अतासिन्छन्,’ उनले भने, ’यतिले मात्र उपत्यकाका सडकमा दुईपाङ्ग्रे चलाउने अनुमति दिनु ’ग्रेस नम्बर’ दिएर विद्यार्थी पास गराएझैं हो। लाइसेन्स दिने प्रक्रिया संशोधन गरिनुपर्छ।’

दुईपाङ्ग्रे चालक अनुमति पाउने उमेर पनि १६ वर्षबाट बढाएर २० बनाउनुपर्ने उनको भनाइ छ।

उनले मोटरसाइकलको नयाँ डिजाइनमाथि पनि आपत्ति जनाए। पछाडिको सिट अग्लो भएको मोटरसाइकल सडकसुहाउँदो नभएको उनको टिप्पणी छ।

’चिल्ला सडकमा यस्ता बाइक ठिकै होलान्, तर हाम्रोजस्तो अग्लो(होचो र खाल्डाखुल्डी सडकमा बाइक बुरूक्क उफ्रिँदा पछाडिको मान्छे पछारिने डर हुन्छ,’ हाछेथूले भने, ’मापदण्ड बनाएर कम जोखिम भएका बाइक मात्र आयात गर्ने नियम हुनुपर्छ।’

’सरकारी नीति(नियम र चालक दुवैले आफ्नो जिम्मेवारी र सुरक्षामा चेतनशील हुने हो भने दुर्घटना कम हुनेमा शंका छैन,’ उनले भने।

मालपोत खबरको सहयोगमा