बारपाकमा संकट : गाउँभरि बिरामी छन्, परीक्षण गर्न डराउँछन्

२०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक अहिले अर्को संकटमा छ । गाउँभरि रुघाखोकी, ज्वरो र पखालाका बिरामी छन् । १५ दिनमा १३ जनाको मृ’त्यु भएको छ, जसमध्ये तीन जनाले बुधबार राति मात्र ज्यान गुमाएका हुन् । मृ’त्यु भएका अधिकांशमा रुघाखोकी र ज्वरो देखिएको स्थानीयले बताएका छन् ।

करिव १५ शय घरधुरी रहेको बारपाकको अवस्था नाजुक छ, गाउँभरि रुघाखोकी, ज्वरो र पखालाका बिरामी छन्,’ स्थानीय जीत घलेले भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि परीक्षण हुन सकेको छैन ।’

गाउँमा कोरोना संक्रमण फैलिएको उनीहरुको आशंका छ । निकै थोरै मात्र भएको परीक्षणको नजिताले त्यही देखाउँछ । बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण भट्टका अनुसार पीसीआर तथा एन्टिजेन प्रविधिबाट ११३ जनाको परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

‘यो हेर्दा गाउँमा कोरोना फैलिसक्यो भन्ने हो, तर स्थानीय वासिन्दा परीक्षण गर्न मान्नुहुन्न,’ भट्ट भन्छन् । कोरोना परीक्षणका लागि पटक पटक जाँदा स्थानीयले नमानेको उनको भनाइ छ । २५० जनाको परीक्षण गर्ने सामग्रीसहित जाँदा १८ जनाको मात्र परीक्षण गर्न सकेको भट्टले सुनाए ।

स्थानीयबासीलाई सम्झाउन दुई दिनअघि स्थानीय कर्मचारी खटिएका थिए । बारपाक स्वास्थ्यचौकीसँगै रहेको महिला भवनमा अक्सिजनसहित ५ वेडको आइसोलेसन सेन्टर बनेको छ । भट्ट भन्छन्, ‘बारपाकको जनघनत्व बढी छ, त्यहाँ कोरोना फैलियो भने आउट ब्रेक हुन्छ । तर स्थानीयले चासो देखाउनुहुन्न ।’

गाउँभर बिरामी बढेपनि परीक्षण नगर्ने र धार्मिक संस्कारको नाममा मानिसहरु भेला तथा जमघट हुने काम नरोकिँदा थप जोखिम बढेको उनले बताए ।

परीक्षण गर्न किन डराउँछन् स्थानीय ?

गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी छन्, तर परीक्षण गराउन मानेका छैनन् । मौसम परिवर्तनको समयमा रुघाखोकी तथा ज्वरो आउनुलाई स्थानीयले सामान्य रुपमा लिने गरेको स्वास्थ्य शाखा प्रमुख भट्ट बताउँछन् ।

कोरोना संक्रमण पुष्टि भएमा गाउँलेले फरक व्यवहार गर्ने त्रास पनि उनीहरुमा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘रुघाखोकी लागेको बेला परीक्षण गरियो भने कोरोना देखिन्छ, अनि कोरोना लाग्यो भने गाउँमा बस्न दिँदैनन् । छिमेकीले छिःछिः दुरदुर गर्छन् भन्ने डरले पनि परीक्षण गर्न नमानेको पाइएको छ ।’

स्थानीय जित घले पनि त्यसलाई स्वीकार गर्छन् । स्थानीय सरकारबाट पनि पहल नभएको उनको गुनासो छ । अर्का स्थानीय मीन गुरुङ भन्छन्, ‘एक/दुई पटक कोरोना परीक्षण गर्न आउने भनेर आएको थियो, तर खासै परीक्षण भएन । यस्तो बेला स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामी भएकालाई औषधि उपलब्ध गराउनुपर्ने हो तर न सरकारले ध्यान दियो न स्थानीय जनप्रतिनिधिले ।’