ओली न्यायालयलाई प्रभावमा पारेर सत्ता कब्जा गर्न खोज्दैछन् : शेखर कोइराला

मोरङ — कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता कब्जाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावमा पार्ने षडयन्त्रमा लागेको बताएका छन् । कोइरालाले मिडियालाई पनि दबाउने खेल सुरु भइसकेको बताएका हुन् ।

सम्पति शुद्धिकरण, राजश्व न्यायधिकरण, गैर सरकारी संघ संस्थाको अनुगमनलगायतका अधिकार आफ्नो मातहत ल्याएका प्रधानमन्त्री ओलीले अहिले विधेयकमार्फत संवैधानिक निकायहरु नियन्त्रण गरिसक्नु भएको छ,’ उनले भने, ‘उहाँले अहिले सर्वोच्च अदालतलाई प्रभावमा पार्ने र मिडियालाई दबाबमा पार्ने षडयन्त्रमा लाग्नु भएको छ ।’ सर्वोच्च अदालतले पत्रकारलाई केराकार गरेको मिडियालाई दबाबमा पार्ने सुरुवात भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले न्यायालय र मिडिया प्रभावमा पार्न सके सत्ता कब्जा गर्न सफल हुने खतरा बढेको कोइरालाको भनाइ थियो । ‘न्यायालय प्रभावमा परेको अवस्थामा प्रतिनिधिसभा पुनःस्थापना हुन सक्दैन,’ उनले भने, ‘त्यसैले सर्वोच्च अदालतप्रतिको जनताको विश्वास कायम राख्ने दायित्व यतिबेला न्यायमुर्तिको हातमा पुगेको छ ।’

प्रतिनिधिसभा पुनःस्थापना हुन नसके मुलुक निर्वाचनमा जाने तर सर्वसत्तावादतर्फ उन्मुख ओलीको नेतृत्वमा निष्पक्ष निर्वाचनको परिकल्पना गर्न नसकिने कोइरालाको भनाइ थियो । ‘निष्पक्षताको सवाल र कोरोना महामारीले तोकिएको समयमा निर्वाचन नहुने भएकाले पुन: संवैधानिक संकट उत्पन्न हुने निश्चित छ,’ उनले भने, ‘पुन: संवैधानिक संकट उत्पन्न भए मुलुक गम्भिर द्वन्द्वमा फस्छ ।

जुनसुकै अवस्थामा पनि ओलीले प्रधानमन्त्री पद नछाड्ने र सत्ता कब्जा गरेरै देश चलाउन खोज्ने षडयन्त्रबाट सबैलाई एकजुट भई निकास खोज्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो । जन्मसिद्धका छोराछोरी नागरिकता पाउनु पर्ने, आमाको नाममा नागरिकता वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माण हुनु गलत नभएको उनको भनाइ थियो ।

तर प्रधानमन्त्रीले ल्याएको नागरिकता विधेयक भोलि गएर संसद्बाट पारित नभएको अवस्थामा अहिले नागरिकता प्राप्त गर्नेहरुको अवस्था के हुने बारे एक पटक सबैले सोच्ने बेला आएको उनले बताए । नागरिकता लगायतका विधेयक ल्याएर सत्ता कब्जा गर्न खोजेका प्रधानमन्त्री ओलीलाई यसको ठूलो मूल्य चुकाउनु पर्ने कोइरालाको भनाइ थियो ।

अहिले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी विधेयकमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई २/४ जनाले कुनैपनि गतिविधि गर्दा १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने अधिकार दिनु अत्यन्तै खतरनाक विषय भएको कोइरालाले बताए । यसले मुलुकमा ओलीलाई सत्ता कब्जा गर्न बेर नलाग्ने भएकाले सबैलाई सचेत भएर सोच्ने बेला आएको उनको भनाइ थियो ।