शुक्रवारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले घरमै खाद्यान्न पुर्‍याउने

काठमाडौं- उपत्यकामा निषेधाज्ञा थपिएसँगै खाद्यान्न पसल बन्द हुने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले घरमै खाद्यान्न पुर्‍याउने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै उपभोक्तालाई खाद्यान्न अभाव भएमा ती निकायको नम्बरमा सम्पर्क गरेपछि होम डेलिभरीको व्यवस्था मिलाइएको जनाएको छ।

सरकार मातहतका ती निकायले घरमा खाद्यान्न पुर्‍याइदिने छन् । खाद्यान्न अभाव भएमा मोबाइल भ्यानमार्फत पुर्‍याइने प्रशासनको सूचनामा उल्लेख छ।