अवरुद्ध पासाङल्हामु १२ दिनपछि सुचारु

रसुवा : १२ दिनदेखि अवरुद्ध पासाङल्हामु सडकखण्ड सुचारु भएको छ। वर्षाका कारण पहिरो गई भासिएको सडक आइतबार साँझ पौने ६ बजेदेखि सडक सुचारु भएको हो। गत भदौ २५ गते पासाङल्हामु मार्गको धुन्चे–राम्चे सडक खण्डको बीच भागमा पर्ने नागार्दुन भन्ने स्थानमा पहिरो गई सडक भासिएको थियो। सडक भासिँदा आवतजावत गर्नसमेत समस्या भएको थियो। सडकभन्दा तलबाट ग्याबिन लगाई भासिएको सडक १२ दिनपछि सुचारु गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

सडक सुचारु गराउनका लागि बिहान ६ बजेदेखि राति १० बजेसम्म काम गरिएको थियो। सडक सुचारु गराउनका लागि प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा, सडक डिभिजन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवा, नेपाली सेनाको कालिजंग गण, राजनितिक दल जनप्रतिनिधि, स्थानिय बासिन्दा, सवारी चालक लगायतका व्यक्तिहरूले सहयोग गरेका थिए। सडक सुचारु भएसँगै १२ दिनदेखि रोकिएका मालबाहक कन्टेनर तथा अन्य सवारी साधनहरू आ-आफ्नो गन्तव्य तर्फ लागेका छन्।

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसवागढी नाका जोड्ने सडक पनि यहि नै हो। नाका जोड्ने सडक अवरुद्ध हुँदा दशैंका लागि चीनबाट आयात गरिएका अर्बौंको सामग्री बीच बाटोमै रोकिएपछि व्यवसायीहरू चिन्तित भएका थिए।

यस्तै, २ महिनादेखि अवरुद्ध मैलुङ स्याफ्रुबेशी सडक रसुवागढी नाका जोड्ने छोटो दूरीको सडक भएकाले पहिलो प्राथमिकता दिएर सडक खोलिए पनि जोखिम बढेको भन्दै सोही सडकमा चालकहरूले सवारी संचालन गरेका थिएनन्।

पछिल्लो समय चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ। चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडि, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरु जाने गरेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकामा दैनिक २ सय भन्दा बढी सवारी आवतजावत हुने गरेको छ।