कोरोनाजस्तै लक्षणले ९ जनाको मृ’त्यु भएपछि बारपाकले माग्यो सरकारसँग सहयोग

गोरखा — कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणका कारण मृ’त्यु हुनेको संख्या बढेपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले प्रदेश र संघ सरकारसँग सहयोगको अपिल गरेको छ ।

एक सातामा बारपाकमा ९ जनाको मृ’त्यु भएको छ । बुधबार राति मात्रै ३ जनाको मृ’त्यु भएको थियो । उनीहरूमा कोरोनाको जस्तै लक्षण देखिए पनि परीक्षण भने भएको छैन

अहिले गाउँपालिकामा दुई सयभन्दा बढी रुघाखोकीका बिरामी भएको अध्यक्ष विष्णु भट्टले बताए । डाक्टरसहितको टोली पुर्‍याएर स्थिति नियन्त्रणमा लिनुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष भट्टले बताए ।

घर–घरै बिरामी छन्, गाउँपालिकाको मात्र क्षमताले भ्याउने स्थिति रहेन, संघ र प्रदेश सरकार समक्ष पनि अनुरोध गरेका छौँ,’ उनले भने, ‘व्यक्तिगत रुपमा सीडीओलाई भनेको छु, प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि जानकारी गराएको छु ।’

बारपाकमा एक सातामा ९ जनाको मृ’त्यु : दुईमा कोरोना पुष्टि, बाँकीको परीक्षणै भएन

गाउँपालिका, प्रदेश र संघ सरकारबाट स्वास्थ्यकर्मीसहितको टोली पठाएर स्वास्थ्य समस्या देखिएका स्थानीयलाई कोरोना परीक्षण गर्नुपर्ने उनले बताए । ‘

हामीसँग डक्टर छैनन्,’ उनले भने,‘जेठ ९ गते ३ सयभन्दा बढीको एन्टिजेन परीक्षण गर्न भनेर गाउँपालिकाबाट टोली पठाएको १८ जनाले मात्र परीक्षण भयो, परीक्षण गर्न नमान्नेहरु छन्, काउन्सिलिङ गर्दै परीक्षण गर्नुपर्ने छ ।’

बारपाकको अवस्थाबारे दिनभरमा केही टुंगोमा पुग्ने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘मुख्यमन्त्रीसँग पनि सम्पर्कमा छु, आज दिनभर वर्कआउट गरेर स्वास्थ्य टोली बारपाक पठाउँछौँ,’ उनले भने,‘मान्छे परीक्षण गर्न मान्दैनन् भन्ने कुरो छ, जनप्रतिनिधि, राजनितिक दलका मान्छले कन्भिन्स गर्नुपर्‍यो ।’