‘राष्ट्रपतिबाट संविधानको ठाडो उल्लंघन भयो, सर्वोच्चले न्याय दिनेछ’ – देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको ठाडो उल्लंघन भएको टिप्पणी गरेका छन्।

उनले राष्ट्रपतिको आह्वानपछि प्रधानमन्त्रीमा दुवै पक्षको दाबी परेपछि छलफलका लागि बोलाउनुपर्नेमा मध्यरातमा संसद् विघटन गरेको भन्दै आलोचना गरे। प्रधानमन्त्रीले भन्दैमा यो राष्ट्रपतिले मान्ने विषय नभएको देउवाको भनाइ छ।

बिहीबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल संवाद कार्यक्रममा बोल्ने क्रममा देउवाले सर्वोच्च अदालतले न्याय दिनेमा आफूहरू विश्ववस्त रहेको बताए। उनले संविधानमाथिको हस्तक्षेपलाई अदालतले रोक्ने विश्वास लिए।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ ( ५) पढ्न समेत सुझाव दिए।