अक्सिजन पाइप लाइन जोडिँदै

जिल्ला अस्पताल लमजुङमा आइतबारदेखि अक्सिजन पाइप लाइन सञ्चालनमा आएको छ । गण्डकीका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बायोमेडिकल इन्जिनियर खोविन्दर सुनारले १५ बेडका लागि अक्सिजन पाइप लाइनको व्यवस्था गरिएको बताए ।

मन्त्रालयले अक्सिजन पाइप लाइन जडानका लागि उक्त अस्पताललाई चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । नवलपुरको मध्यबिन्दु अस्पतालमा पनि गत सातादेखि अक्सिजन पाइप लाइनको सेवा सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश सरकारले यसअघि ११ वटै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने र तत्काल अक्सिजन पाइप लाइन जडान गर्ने कार्यक्रम तय गरेको थियो । अक्सिजन प्लान्ट जडानको कार्यक्रम दुई वर्षअघिको भए पनि कोभिडसँगै बढी ताकेता गरिएको मन्त्रालयले जनाएको छ ।

इन्जिनियर सुनारले पाइप जडानका लागि कुनै जिल्लामा खरिद प्रक्रियाको समस्या र कतै बिजुलीको समस्याका कारण ढिलाइ भएको बताए । ‘मुस्ताङ जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन जडान गर्न ३ महिना लाग्यो,’ उनले भने, ‘अक्सिजन चलाउन थ्री–फेज विद्युत् लाइन चाहिन्छ । मुस्ताङमा बिजुलीकै समस्याका कारण ढिला भएको हो ।’ मुस्ताङमा १५ बेडका लागि अक्सिजन पाइप लाइन तयार भएको छ ।

मनाङ जिल्ला अस्पतालमा भने जडानकै प्रक्रियामा छ । यहाँ पनि बिजुलीकै समस्या भएका कारण जडान कार्य ढिला भएको सुनारले बताए । यसैगरी गोरखा जिल्ला अस्पतालमा पनि सञ्चालनको तयारीमा छ । पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्न लागिएको बताउँदै मन्त्रालयले ठेकेदारबाट हस्तान्तरण नभएकाले पाइप लाइन जडान नभएको जनायो ।

म्याग्दीको बेनी अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वत, स्याङ्जाका जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन जडान भइसकेको छ । धौलागिरि अस्पतालमा भने अक्सिजन प्लान्टकै प्रक्रिया अघि बढाइएको मन्त्रालयले बताएको छ । तनहुँ जिल्ला अस्पतालमा भने जडान प्रक्रियामै छ । यसका लागि टेन्डर भइसकेको छ ।

गत वर्ष रकम नलगेका तनहुँ, मुस्ताङ, मनाङ, लमजुङ जिल्लाले भने यस वर्ष लगेका हुन् । सरकारले आफ्नै मातहतमा रहने गरी स्थापना गरेको संक्रमण तथा सरुवा रोग अस्पतालमा पनि अक्सिजन पाइप लाइन जडानका लागि टेन्डर प्रक्रियामा गएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले अब छिट्टै सञ्चालन गरिने बताए । ‘टेन्डर प्रक्रिया लामो हुने भएकाले समय लागेको हो,’ उनले भने, ‘तयारी भइरहेको छ ।’ यो अस्पताललाई सरकारले १ करोड ३५ लाख रुपैयाँ दिएको मन्त्रालयले जनाएको छ ।

संघीय सरकारको मातहतमा रहे पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई गण्डकी सरकारले अक्सिजन पाइप लाइन जडानका लागि ६२ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मातृशिशु अस्पतालमा पनि सरकारले अक्सिजन जडान प्रक्रियाअगाडि सारेको सुनारले बताएका छन् । ‘पाइप लाइन जडान भए पनि हामीले चाहेजस्तो क्वान्टिटी छैन,’ सुनारले भने, ‘अहिले काम चलाउने हो ।

गण्डकीमा दुईवटा अक्सिजन उत्पादन कम्पनी भएकाले अक्सिजनको समस्या त छैन तर सिलिन्डरको समस्या छ । यी दुई कम्पनीले दैनिक एक हजारभन्दा बढी सिलिन्डर भर्न सक्छन् ।’

प्रत्येक बेडमा अक्सिजन पाइप लाइन जडान गर्ने, अक्सिजन सकिए एकैपटक सकिने र एकैपटक जोड्न मिल्ने गरी बनाउने योजना रहेको उनले बताए । अहिले क्षेत्रीय अस्पताल, सरुवा रोग अस्पताललगायतमा अक्सिजन मेनिफुलबाट चलाउने गरिएको उनले बताए ।