३६ करोडको अमेरिकी सहयोग लिएर आएको विमान आज काठमाडौं अवतरण गर्दै

काठमाडौं। अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालको लागि पठाएको सहयोग सामग्री आज काठमाडौं आउँदैछ । डाइरेक्ट रिलिफले अहिले ३.०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबरको सहयोग सामग्री पठाएको आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।

सहयोग सामग्री लिएर अमेरिकी डेलीभरी कम्पनी फेडेक्सले चार्टर्ड जहाजमार्फत लिएर आउँदैछ । जहाज अमेरिकाबाट मे २५ मंगलबारका दिन उडिसकेको छ र आज काठमाडौंमा अवतरण गर्ने कार्यक्रम छ । अमेरिकाको शिकागोबाट उडेको जहाजमा ८६० अक्सिजन कन्सन्ट्रेटर छन् । साथमा १ भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरु तथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् ।

यसबाहेक डाइरेक्ट रिलिफले नेपालमा मेडिकल अक्सिजनको आपूर्ति सहज बनाउन हेटौंडाको सिद्धस्थली सामुदायिक अस्पताललाई अक्सिजन प्याल्ट स्थापना गर्न आर्थिक सहयोग गर्दैछ । डाइरेक्ट रिलिफले नेपालका लागि सहयोग सामग्री पठाउने भएपछि अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले एक पत्र लेख्दै डाइरेक्ट रिलिफलाई धन्यवाद दिएका छन् ।

उनले डाइरेक्ट रिलिफ र अन्य सम्बन्धित संस्थाहरुलाई यसरी पठाइएका सहयोग सामग्री नेपाल पठाउने क्रममा आइपर्ने सबै प्राविधिक र कानुनी विषयमा सहयोग गर्ने विश्वास पनि दिलाएका छन् । अहिले पठाइएको सहयोग सामग्रीको तौल २५ टन छ । पठाइएका सामग्रीहरु थ्रिएम, एबभाइ, ब्याक्सटर, बीडी, हिक्मा फार्मास्युटिकल्स, फाइजर, टाकेडा फार्मास्युटिकल्स, टेभा फार्मास्युटिकल्स, टिफी ह्युमानिटेरियन, भियाट्रिस लगायतका कम्पनीहरुले सहयोग गरेका हुन् ।

पठाइएको सहयोग सीसीएमसी, वन हर्ट वर्ल्डवाइड, धुलिखेल अस्पतालले यो सहयोग सामग्री पाउनेछन् र त्यहाँबाट देशभर वितरण हुनेछ ।