कोरोना महामारीमा सरकार खोज्दै  सडकमा नागरिक अगुवा

कोराना महामारीको दोस्रो चरण उत्कर्षमा पुगेको बेलामा सरकार संवेदनशील नभएको भन्दै नागरिक अगुवाहरूले काठमाडौँको कीर्तिपुरमा प्रदर्शन गरेका छन् । बृहत् नागरिक आन्दोलनको अगुवाइमा बुधबार काठमाडौंको कीर्तिपुरस्थित गणतन्त्र चोकमा उनीहरूले विभिन्‍न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे ।

आन्दोलित नागरिक अगुवाहरूले देश कोरोना महामारीबाट आक्रान्त बनेका बेला संसद् विघटन गरेर चुनाव घोषणा गरेको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले ‘स्वास्थ्य सेवा निःशुल्क गर, अस्पतालहरू राष्ट्रियकरण गर’, ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आश छ’, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा लेखक तथा पत्रकार नारायण वाग्ले, युग पाठक, दोभान राईलागायत अभियन्ताहरू सहभागी भए । लेखक तथा विश्लेषक राजेन्द्र महर्जनले जनता र देशविरुद्ध हुने हरेक षड्यन्त्रविरुद्ध उभिने बताए । ‘महामारीको संकटको बेलामा प्रधानमन्त्री केपी ओलीले चालेको कदम देश र जनताविरुद्धको ठूलो षड्यन्त्र हो ।

यसका विरुद्ध हामी बोल्छौँ,’ महर्जनले भने, ‘कीर्तिपुरको इतिहासमा पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्म जनताका विरुद्धमा हुने सबै प्रकारका षड्यन्त्रका खिलाफमा उभिएको छ । आज हामी त्यसेको निरन्तरता दिन उभिएका छौँ ।’ अघिल्लोपटक कोरोना महामारीका कारण लकडाउन हुँदा भरिया सूर्यबहादुर तामाङले भोकभोकै मृ’त्युवरण गरेको ठाउँमा प्रदर्शन गरिएको थियो ।

महर्जनले त्यही ठाउँबाट सरकारको आपराधिक चरित्रविरुद्ध निरन्तर लड्ने उद्घोष गरे । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठमा दोस्रोपटक संसद् विघटन गरेर चुनावको घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । बृहत् नागरिक आन्दोलनले अबदेखि निरन्तर सरकारको गैरजिम्मेवारीपूर्ण कदमविरुद्ध आन्दोलन गर्ने भएको छ ।

अभियन्ता युग पाठकले सम्भव भएका ठाउँमा भौतिक दूरी कायम गरेर र सम्भव नभएका ठाउँमा भर्चुअल रूपमा सरकारलाई खबरदारी गर्ने बताए । ‘सरकार गैरजिम्मेवार बनिरहेको छ । नागरिकका समस्या एकातिर सरकारको कदम अर्कोतिर भइरहेका छन् । हामी यसको निरन्तर प्रतिरोध गर्छौं,’ पाठकले भने,

‘महामारीको समयमा स्वास्थ्य मापदण्ड पनि अपनाउनुपर्ने हुन्छ । सबैजना त्यसरी सडकमा उत्रिन सम्भव नहुन पनि सक्छ । हामी त्यो सबै कुरालाई ख्याल गरेर प्रतिरोध आन्दोलनलाई अघि बढाउँछौँ ।’