नेपाली मोह र अमेरिकी भोगाइ

काठमाडौँ— अधिकांश नेपालीहरूको सपनाको देश मानिने अमेरिका जान ज्यानै जोखिममा पार्नेको पनि कमी छैन् । लाखौँलाख खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । एक वर्षअघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका उदाहरण प्रशस्त छन् ।

चाहे विद्यार्थी भिसामा होस, डिभी चिट्ठा मार्फत होस या त मेक्सिकोको सीमा काटेर नै किन नहोस् । वैधानिक र अवैधानिक दुवै माध्यमबाट बर्सेनि नेपाललगायतका अन्य देशका नागरिकहरू अमेरिका छिर्ने गर्छन् ।

अहिले नेपालमा असाध्यै फेसनको विषय बनेको छ अमेरिका, अष्ट्रेलिया । कलिला युवायुवती लाखौँ नगद बोकेर कन्सलटेन्सितिर धाउँछन् । खेतबारी बेचेरै भिसा लगाउँछन् । अनि फलानो अमेरिका जाने, ढिस्कानो अष्ट्रेलिया जाने भनेपछि चर्चा परिचर्चा सुरु हुन्छ । बिबाहको साइत जुराउने, डिपेन्डेन्ट पार्टनर खोज्ने । उपल्लो तहका व्यक्ति समेत मरिहत्ते गर्छन् भिसा लागेको केटोलाइ छोरी दिन । न त उमेरको सन्तुलन मिलोस न त कुलघरान, व्यवहारिकता र क्षमता नै । जसरी हुन्छ अमेरिका उडाउने मनसाय हुन्छ बाबु आमाको । मेरो छोरो वा छोरी अमेरिका छन् भनेर गाउँदेखि सहरसम्म प्रचारप्रसारमा जुट्नेको पनि कमी छैन समाजमा ।

हाम्रो समाजमा सुनेको भरमा अमेरिका सबै थोक हो, पैसा सोहोर्न पाइन्छ । पैसाको भारी हाल्न पाइन्छ । काम गर्नुपर्दैन, सारा सबै सुविधैसुविधा हुन्छ भन्ने ‘मनोरोग’युक्त गलत कथ्यहरू छन् । जहाँ गए पनि शारिरीक, बौद्धिक श्रम गर्नेपर्छ भन्ने सतही मूल्यांकन गरिँदैन । अनि देखिन्छ सपना सफा सुन्दर, र चिटिक्क न्युयोर्क सहरको । नेपालमा बसेर अमेरिकाबारे देखेको सपना र अमेरिका पुगेपछि भोग्नुपर्ने बिपनामा धेरै अन्तर छ । नेपालमा सपना देख्दादेख्दै अमेरिका पुग्ने जो कोही त्यहाँ पुगेपछि झल्याँस्स ब्युँझिन्छन् ।

अमेरिका बस्नेले समुद्री किनार, स्ट्याचु अफ लिवर्टी, टाइम्स स्क्वायर, गोल्डेनगेट, हलिउडमा बसेर खिचेको तस्बिर देखेर नेपाली समाजले मूल्यांकन नगर्दा उपयुक्त हुन्छ । यहाँ रहेका उच्च शिक्षित बाहेक अधिकांश नेपालीहरुले राज्य अनुसार न्युनतम प्रतिघण्टा सातदेखि एघार डलर ज्याला पाउँछन् । कागजपत्र नभएकाहरुको हकमा त्यो रकम अझै कम हुन्छ । यस हिसाबले हप्ताको सातै दिन दैनिक आठ घण्टा काम गर्‍यो भने पनि मासिक आम्दानी भनेको दुई हजार डलरको वरिपरी हुन्छ । यो अधिकतम् हो, यसमा अझ घट्न सक्छ तर बढ्दैन । कुनै कारणले वा बिरामी परेर त्यो दिन काममा गएन भने वा हप्ताको एक दिन बिदा बस्यो भने त्यो ज्याला आउँदैन । हप्तामा सातै दिन काम गर्न अत्यन्तै कठिन हुन्छ, कामको समयमा एक छिन बस्न पाइँदैन उभिएर नै काम गर्नु पर्छ, काम सकिएर डेरा पुग्दासम्म खुट्टा झर्ला जस्तो हुन्छ । मेरूदण्द खुस्केको अनुभव हुन्छ ।

सामान्य सीप, दक्षता अनि अंग्रेजी भाषामा कमाण्ड नभएकालाई यो संसार निकै कठिन ठाउँ हो, स्वर्ग होइन नर्क हो । यहाँ आएर डिप्रेसनमा परेर आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेका केही उदाहरण पनि छन् । अमेरिका पुगे भने मैले काम पाउनसक्छु ? काम पाइन भनेपनि कति महिना खाली हात बस्नसक्छु ? त्यति समयसम्मका लागि मलाई सहयोग गर्ने आफन्त, साथीभाई छन् कि छैनन् ? अनि जस्तोसुकै काम पनि गर्छु भन्ने हिम्मत छ भनेमात्र अमेरिकी गोलार्द्धमा टिक्न सकिन्छ । किनकी यो ठाउँ भनेको कसैले कसैलाई मतलब नराख्ने, अनि आवश्यक परेको आफन्तले समेत मुन्टो अर्कातिर बटार्ने, चिनेको छैन भन्ने ठाउँ हो । भारतीय या पाकिस्तानीका स्टोर, ग्यास स्टेशन, रेस्टुरेन्टहरुमा काम गर्नुको विकल्प छैन । त्यो पनि तालिम अवधि भनेर महिनौ निःशुल्क काम गर्नुपर्ने बाध्यता हुन्छ । नेपालमा यति पढेको उति भनेर गफ नगरेको राम्रो अमेरिका यस्तै हो । जहाँ आइसकेका पनि पछुताएका छन् र आउन नपाएका पनि पछुताइरहेका छन् ।

जसले जति नेपालमा म यस्तो र उस्तो भनेर गफ हाँके पनि उसले त्यो काम गर्ने समयमा कुचो लगाउने, भुँइ र चर्पी पुछ्ने जस्ता काम गर्नैपर्छ । नेपालमा स्नातकोत्तर उत्तीर्ण गरेको हो भने पनि उसको हैसियत यहाँ औंठा छाप बराबर नै हो । अझ कसैले म म्यानेजर छु भनेर दाबि गर्छन भने त त्यो सबैभन्दा दुखी प्राणी हो भन्ने बुझ्दा हुन्छ । त्यस्ता केहि ब्यबसायिक रूपले सफल ब्यक्तिहरू पनि छन जसलाइ बोल्ने फुर्सद हुदैन ।

अमेरिकालाई मान्छेहरु अवसरै अवसरको देश भन्छन् । त्यस्तो अवसर कसले कति पायो मुलुकलाइ कति फाइदा भयो त्यो थाहा भएन । तर, अमेरिकाले सबैलाई कडा परिश्रम गर्न भने सिकाउँछ । कडा परिश्रम गरेपछि परिणाम पनि राम्रै हुनेमा कुनै शंका छैन । समयको सदुपयोग गरेर काम गर्ने हो भने यो देशमा सबैलाई काम छ, यहाँ बेरोजगार भनेको अल्छी मान्छे मात्र हो ।

कुनै कम्पनी वा व्यवसायको मालिक, सिईओ वा प्रबन्धकले पनि सामान्य कामदार जस्तै काम गर्न वा ग्राहकलाई सेवा दिन तत्पर हुने संस्कार । रेस्टुरेण्टको वेटरलाई प्रोफेसरले सर भनेर सम्बोधन गरेको वा कुनै व्यवसायको प्रवन्धक, मालिक वा कार्यालयको हाकिमलाई कामदार/कर्मचारिले नामले बोलाएको किन नहोस यहाँ देखिने यस्ता व्यवहारहरुले कसैलाई काम र कामको प्रकृतिको आधारमा सानो र ठूलोको विभेद छैन । कार्यस्थलमा हुने यस्ता व्यवहारहरुले काम र व्यवसायको सम्मान गर्ने र प्रत्येक व्यक्तिको आत्मसम्मान नै प्रधान र महत्वपूर्ण हो भन्ने कुरा सिकाउँछ न कि को के गर्छ, कति कमाउँछ वा कस्को कुन पद हो भन्ने कुरा ।

नेपालको भन्दा रितिथिति ठ्याक्कै उल्टो भएको अमेरिकामा त्यस्तो के छ ? जहाँ जानको लागि मानिसहरु दिनरात मेहनत गर्न पछि पर्दैनन् । ज्यानको माया भन्दा अमेरिकी मोह ठूला मान्छन् । उता, अमेरिका बसेकाहरूले आफूलाई सम्पन्न र खुशी देखाउन सामाजिक सञ्जालमा किसिम किसिमको फोटो अपलोड गरिरहन्छन् । भित्र पीडा बोकेर अरुलाई आफू खुशी भएको देखाएर नाटक गर्नु भन्दा आफैं भित्रबाट खुशी हुनु महत्वपूर्ण हो । यो मान्छे जीवनदेखि खुशी छु भनेर कसैले प्रमाणपत्र दिनु पर्दैन ।

अमेरिका बस्ने भारतीयमूलका नागरिकहरूको सामुदायिक सम्बन्ध यति पारस्परिक छ कि उनीहरू एकअर्कालाइ सहयोग गर्छन् । भावनात्मक एकता र सामाजिकता छ । नेपालीहरूको भावना सकेसम्म ठग्ने, कार्यक्षेत्रमा चम्चागिरी गर्ने, कुरा काट्ने प्रवृत्ती ज्यादा छ, मानवीय सहयोग गर्ने त टाढाको कुरा । नेपालीबाटै जोगिन मुश्किल छ यहाँ ।

नेपालमा रहेका बाबुआमा वा आफन्त नातागोता साथीभाइले बुझ्नुपर्ने कुरा के हो भने अमेरिकामा टपटप डलर टिप्ने हैन । अधिकांशले ८/१० घन्टा उभिएर खलखली पसिना बगाएपछि बल्ल केही आर्जन हुन्छ । त्यसको एक तिहाई कर, रेन्ट तिर्दै सकिन्छ । बाँकी रहेको एक तिहाईले आफनो अन्य किनमेल र बच्यो भने नेपालमा पनि पठाउनुपर्छ । यहाँ बसेर आइफोन ल्याइदे र ऊ ल्याइदे, यो पठाइदे भन्न सजिलो हुन्छ तर उता त्यति जोहो गर्न डडाँल्नो अर्अरिनेगरि घोटिनुपर्छ । लुगा त्यसै सफा हुन्छ ठाउँ राम्रै छ फेसबुकमा हप्ताको एकचोटि रमाइलो गरेको फोटो सुकिलो र मुहार हँसिलो देख्दैमा यहाँ बसिबसि भावनात्मक शोषण गर्नु अत्याचार हो ।

अत: सीपमुलक वा स्वरोज़गारमूलक शिक्षा, रोज़गार सृजना, कामको सम्मान गर्ने संस्कार, उध्योग, कृषि र पर्यटनमा जोड दिँदै देशको युवाशक्तिलाई सृजनात्मक काममा लगाउन सके अर्थात सबैलाई काममा व्यस्त बनाउन सके नेपाल समृद्ध देश बन्न धेरै समय लाग्दैन । विदेशमा विज्ञान, प्रविधि र अन्य क्षेत्रमा उच्च विशेषज्ञता हासिल गरेका धेरै नेपालीहरु छन् । नेपाललाई चाहिने ठूलो श्रमशक्ति विदेशमा छ । भारत र चीनले त्यस्तो विदेशिएको दक्ष जनशक्ति फर्काएर देश विकासमा लगाएका छन् । नेपालले पनि त्यस्तो वातावरण बनाउनुपर्छ ताकी नेपालीहरु विदेशिन होइन, स्वदेश फर्कन लालायित हुन् । अमेरिका उड्न होइन ।

हाल: टेक्सस, अमेरिका